उर्लाबारी । मोरङको उर्लाबारी–२ को बेतिनी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वका लाडि कडा प्रतिष्पर्धा हुने भएको छ ।
समूहको अध्यक्षमा वर्तमान अध्यक्ष भीम राई र वर्तमान कोषाध्यक्ष ज्योति थापाबीच प्रतिष्पर्धा हुने भएको हो । दुबै जनाले अध्यक्षमा दाबी गरेका छन् ।
आगामी माघ १४ र १५ गते हुने वनको १९ औं चुनावी साधारणसभा हुँदैछ । वर्तमान अध्यक्ष राईले अधुरा कामहरु पूरा गर्नका लागि पुनः एक कार्यकाल अध्यक्षमा पुनः आउन चाहानुहुन्छ । वनलाई अघि बढाउनुका साथै अधुरा कार्य पूरा गर्न आफू अब एक पटक नेतृत्व लिन लागिपरेको वर्तमान अध्यक्ष राईले बताउनुभयो । यता थापाले नेतृत्व परिवर्तन हुनु पर्ने बताउन थाल्नु भएको छ ।
आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेको थापाले बताउनुभयो । नेतृत्वका लागि आफू सक्षम रहेको र एकै व्यक्तिले पटक पटक नेतृत्व गर्न नहुने भन्दै थापाले अध्यक्षको दाबी गर्दै उपभोक्तासँग मत माग्न थालेको बताउनुभयो । वेतिनी सामुदायिक वनमा १४ सयभन्दा बढी उपभोक्ता रहेका छन् ।