
उर्लाबारी,सहकारी कर्मचारी संगठन उर्लाबारी इलाका मोरङको अध्यक्षमा चक्रबहादुर खड्का चयन भएका छन् । आज हाम्रो बचत उर्लाबारीको सभाहलमा सम्पन्न संगठनको १२ औं वार्षिक चुनावी साधारणसभाबाट हाम्रो बचतका व्यवस्थापक खड्का पुनः अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा नारी संकल्प साकोसकी सुशीला खत्री, सचिवमा सौठा साकोसका यादव विष्ट, सहसचिवमा दाम्राभिट्टा साकोसका सोमप्रसाद अर्याल र कोषाध्यक्षमा श्रीसगरमाथा साकोसका ज्ञाननाथ सुवेदी चयन भएका छन् । सर्वसम्मत चयन भएको समितिको सदस्यहरुमा इटहरा साकोसका सुमन पोखरेल, दुर्गावास साकोसका नगेन्द्रबहादुर चापागाई, राजघाट साकोसका देवीप्रसाद तिम्सिना, सूर्य साकोसकी तिला दाहाल, महिला उत्थान साकोसकी कर्णकुमारी शाक्य र चन्द्रसूर्य साकोसका चित्र पौडेल रहेका छन् । यस्तै, लेखा समिति संयोजकमा उर्लाबारी साकोसका महेन्द्र दाहाल, लेखा सदस्यमा पूर्वनेपाल साकोसका शिवप्रसाद निरौला र विश्वनाथ साकोसका रामशरण पौडेल चयन भएका छन् ।
संगठनको १२ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम एनएमवी बैंक उर्लाबारीका प्रमुख सीताराम ओझाको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रमुख अतिथि ओझासहित राष्ट्रिय सहकारी बैंक विराटनगरका प्रमुख प्रभु पोखरेल, सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका अध्यक्ष गणेश राई, नेपाल रेडक्रस सोसाइटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी उपाध्यक्ष सुशीला खत्रीले स्वागत गरेको कार्यक्रममा सचिव यादव विष्ट, कोषाध्यक्ष ज्ञाननाथ सुवेदी र लेखा समिति संयोजक महेन्द्र दाहालले आ–आफ्नो प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा अध्यक्ष चक्रबहादुर खड्काले सहकारी ऐनमा सहकारीका कर्मचारीका विषयमा केही पनि उल्लेख नभएको बताउँदै राज्यले सहकारीका कर्मचारीलाई उपेक्षा गरेको गुनासो गरे ।