
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत अहिले नेपाल र भारतबीच खेल भइरहेको छ। माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
खेलमा भारतका कप्तान सुनील क्षेत्रीले पहिलो हाफमा पाएको सुन्दर मौका खेर फालेका छन्। क्रस बलमा अनमार्क सुनीलको प्रहार थोरैले बाहिरिएको थियो।
पहिलो हाफमा भारतले नेपालमाथि दबाब दिएको छ। यद्यपी नेपाली डिफेन्डरले भारतीय फरवार्डलाई चल्न दिएका छैनन्।
माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरूवाती दुई खेल खेलिसकेका छन्।
नेपालले खेलेका दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको थियो।
दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३-२ को जित हात पार्यो। नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
यता भारतले भने सुरूवाती दुई खेलमा जित निकाल्न सकेको छैन। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्न सफल भयो।
२ अंक जोडेको भारत अंक तालिकाको चौथो स्थानमा छ।
भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनल पुग्नेछ। नेपालविरुद्ध हारेको अवस्थामा भने भारतको फाइनल यात्रा कठिन बन्न सक्छ।
नेपाल र भारतबीच गत महिना दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो।
नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।