
विकास निरौला
उर्लाबारी । मोरङको उर्लाबारी–१ सुकुम्बासी टोलका आगलागी पीडितलाई जस्ता पाता सहयोग गरिएको छ ।
मंगलबार सुकुम्बासी टोलका महादेव साहको परिवारलाई दुई बन्डल जस्ता पाता सहयोग गरिएको हो । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले पीडित परिवारलाई जस्ता पाता हस्तान्तरण गरेका छन् । हङकङमा रहेकी उर्लाबारीकी अस्मिता वाइबाको १२ हजार सहयोग गरेकी थिइन् । यसैबीच स्थानीयबासीको सहयोगमा आगलागी पीडित साहको घर निर्माणसमेत भइरहेको टोल विकास समितिका अध्यक्ष दिनेश फ्यालले जानकारी दिए । स्थानीयले बाँसलगायत श्रमदान गरिरहेको उनले बताए । यसैगरी उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले नगरपालिकाले तत्काल राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । सो आगलागी हुँदा साहकी पत्नी रिता साह र छोरी अनुशा साह घाइते भएका थिए । घाइते दुबै जनाको उर्लाबारीस्थित अरनिको हस्पिटल प्रा.लि. का अध्यक्ष लोलिम पोमु लिम्बूले निःशुल्क उपचारको ब्यवस्था मिलाइदिएका थिए । फुसको छानो भएको घर आगलागीबाट पूर्ण रुपमा जलेको थियो । दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएको सो परिवार छिमेकीको शरणमा बसिरहेका छन् ।