उर्लाबारी । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस्तै, उर्लाबारीसहित ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।