
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–९ की ४५ वर्षीया सीता खरेल घर नजिकै रहेको चौताराको फलैँचामा बुधबार बिहान मृत फेला परेकी छन् । नागीटोलको चौतारोमा महिलाको शव देखेपछि स्थानीय बासिन्दाले बिहान ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीका अनुसार सीता बेलुका श्रीमान नगेन्द्र खरेलसँगै गाउँ गएकी थिइन् । दुवै जनाले मादक पदार्थ सेवन (मापसे) गरेपछि श्रीमान अर्को गाउँतिर गएको र श्रीमती भने घर फर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । तर घरै नपुगेकी सीता भने बुधबार बिहान चौताराको फलैँचामा मृत भेटिएकी हुन् । प्रहरीले श्रीमान श्रीमती दुवै जना मापसे गरेर हिँड्ने गरेको तथा अत्याधिक सेवनका कारण घर पुग्न नसक्दा चौतारामा सुतेकै ठाउँमा महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । घर पुगेर खोजी गर्दा आफूले श्रीमतीलाई नभेटेको नगेन्द्रले प्रहरीलाई बताएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले शवलाई पोस्टमार्टमका लागि झापाको दमकस्थित आम्दा अस्पतालमा लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।