
उर्लाबारी । मुलुकभरी रगतको अभाव भइरहेको अवस्थामा राष्ट्रिय युवा संघ उर्लाबारी नगर कमिटीले रक्तदान गरेको छ ।
आज उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदानमा २२ जना महिलासहित ७१ जनाले रक्तदान गरेको संघका उर्लाबारी नगर सह–संयोजक योगेश बस्नेतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीले मुलुकभर रगत अभाव भएको जनाएपछि युवा संघले उर्लाबारी रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको उहाँले बताउनुभयो । रक्तदान कार्यक्रममा युवा संघका केन्द्रीय सचिवालय सदस्य विजय डाँगीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा मोरङ जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, अग्नी भट्टराई, प्रदेश सल्लाहकार सदस्य विद्या चाम्लिङ, पार्टीको उर्लाबारी नगर संयोजक उमाकान्त गौतम, सह–संयोजक तार्ण श्रेष्ठ, युवा संघका प्रदेश नेता डिल्ली खतिवडा, जिल्ला अध्यक्ष नविन पौडेल, जिल्ला सदस्य भीष्म बुढाथोकी, दिपक आले मगर, रविन लामा, मिलन दाहाललगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका उर्लाबारी संयोजक राजिव लिम्बूको सभापतित्वमा भएको थियो ।
केहीदिन अघि मोरङको मिक्लाजुङ गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको युवा संघले शुक्रबार उर्लाबारीमा रक्तदान गर्ने संघ जिल्ला सदस्य दिपक आले मगरले जानकारी दिनुभयो । उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा हुने रक्तदान कार्यक्रममा सबैलाई सहभागी भई रक्तदान गर्न संघका उर्लाबारी नगर कमिटी सह–संयोजक योगेश बस्नेतले अपिल गर्नुभएको छ । उहाँले रगतको अभाव भइरहेको अवस्थामा संघले रक्तदान कार्यक्रम अघि बढाएको बताउनुभयो । विहान ८ः३० बजे हुने उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग उर्लाबारी रेडक्रस सोसाइटीको रहने छ ।