उर्लाबारी । एउटा भनाई छ, तिहुन मीठो तरकारी, जागीर राम्रो सरकारी । अर्थात सरकारी जागिर भयो भने जीवन भरलाई ढुक्क हुन्छ । सरकारी जागिर नभएको मान्छेको के भर ? सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन आउँछ । काम नगरी खान पाईन्छ भन्ने धेरैको धारणा छ । त्यसमाथि सेनामा काम गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ । प्राय मानिसहरु सरकारी जागिर भनेपछि मरिरहत्त नै गर्छन् । सरकारी जागिर खानका लागि लोकसेवाको परीक्षाको फर्म भर्नेको आँकडा हेरेमात्रै पनि पुग्छ सरकारी जागिरको क्रेज । तर सबैलाई सरकारी जागिर मन पर्छ भन्ने छैन । कतिले सुरुमा लहै लहैमा सरकारी जागिर खाएका हुन्छन् र पछि विविध कारणले छाडेका पनि हुन्छन् । आज हामी यस्तै सरकारी जागिर विशेष गरी सेनामा काम गरेर छाडेका कलाकारहरुको बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ ।
दीपकराज गिरी
नेपाली सिने क्षेत्रका राजा बनिसकेका कलाकार दीपकराज गिरी आफूलाई हुन नसकेको असई भन्छन् । उनी कलाकारितामा आउनु भन्दा पहिले असईमा भर्ति भएका थिए । यो कुरा धेरै कमलाई थाहा छ । उनले आफू प्रहरी सहायक निरिक्षक (असई)मा भर्ति भएर केही दिन बिताएको कुरा केही अन्र्तवार्ताहरुमा भनेका छन् । उनले जम्माजम्मी चार दिनको लागि असईको जागिर खाए । सुरुवाती चार दिनमै ट्रेनिङ गाह्रो लागेपछि उनले त्यो जागिरबाट कुलेलाम ठोक्ने विचार गरे र ठोके पनि । पहिले प्रहरी अधिकृत बन्ने रहरले असई भएका उनीसँग थोरै भएपनि फौजी जागिरको अनुभव छ । दीपकले सरकारी जागिर छाडेर कलाकारितामा लागे जुन उनलाई निकै फापेको छ ।
अर्जुन घिमिरे (पाँडे)
अजुर्न घिमिले उर्फ पाँडेले पनि नेपाली सेनाको अनुभव संगालेका छन् । संकटकालको समयमा उनी आर्मीमा भर्ति भएका थिए । तर उनको संकटकालको सरकारी जागिर संकटकालले नै खाईदियो । देशमा माओवादी र सरकार वीच बढेको द्धन्दले उनको जागिर खाइ दिएको हो । उनी त्यो पल सम्झँदै भन्छज्, ‘संकटकालमा जागिर खाको संकटकाल मै अवकास प्राप्त भयो ।’ अर्जुनका दाई प्रहरीमा थिए । उनले दाईको माध्ययमबाट सेनाको जागिर खाएका थिए । तर पछि संकटकालमा बढेको द्धन्दले उनी लगायत अन्य १२ जनाले एकैपटक आर्मीको जागिर छोडेका थिए ।
कलाकारिता भने उनले आर्मीमा जानु भन्दा पहिले नै शुरु गरेका थिए । उनले पहिलो पटक ‘हिजो आजका कुरा’मा क्यामेरा फेस गरेका थिए । उनी भ्रदगोलमा पाँडेको भूमिका निभाएर चर्चित भएका हुन् । केही समय बन्द भएको यो हाँस्यटेलिसिरियलको टिमले सक्किगो नि हाँस्यटेलिसिरियल निर्माण गरेको छ । उनी उक्त हाँस्यटेलिसिरियलको मुख्यपात्र हुन् । उनी अहिले चर्चित हाँस्य कलाकारमा गनिन्छन् ।
धिरेन शाक्य
धिरेन शाक्यले नेपाली सिनेमामा झण्डै तीन दशक जति बिताई सकेका छन् । पाल्पामा जन्मेका धिरेनले पनि अभिनयका लागि ब्रिटिश आर्मीको जागिर छाडेका थिए । उनी आफू आर्मीमा हुँदा खेरीको कुरा सम्झेर भन्छन्, ‘त्यतिबेला जोश थियो , उमेर थियो, त्यस कारण म गएँ । तर पछि मलाई त्यो जीवन मन परेन । अनि म छाडेर कलाकारितामा लागेँ । मैलै राजीनामा दिएर छोडेको पनि होईन तर कलाकारितामा आउन लेखेको रहेछ त्यहि भएर मैलै छाडेँ जस्तो अहिले लाग्छ ।’उनी आर्मीबाट फर्किएर आएपछि साथीहरुको हौसला र सहयोगले सिनेमामा लाग्ने सोच बनाएका थिए । उनलाई निर्देशक बसन्तजंगले सिनेमाको ढोका खोलिदिएका थिए भने चेतन कार्कीले ब्रेक दिएका थिए । जुन कुरा उनी कहिल्यै पनि बिर्सन सक्दैनन् ।
प्रशान्त तामाङ
ईन्डियन आईडल बनेका गायक तथा नायक प्रशान्त तामाङ पनि पहिले ईन्डियन प्रहरीमा कार्यरत थिए । प्रशान्तले कलाकारिता र प्रहरी मध्ये एउटा छान्नु पर्ने भएका कारण कलाकारितालाई छानेको र प्रहरीको जागिर छाडेको जानकारी मिडियालाई दिएका थिए । तर, उनी लामो समयसम्म गयल भएका कारण उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो । उनी ईन्डियन आईडल भएपछि सन् २००९ देखि २०१४ सम्म एक हजार ८ सय ७० दिन गयल भएका थिए । प्रशान्तले सिनेमा गोर्खा पल्टन र निशानीमा आर्मीको भूमिका निभाएका छन् । उनलाई वास्तविक जीवनमा भएको प्रहरीको अनुभवले सिनेमामा काम गर्न पनि निकै सजिलो भएको थियो ।
तुलसी घिमिरे
निर्देशक तुलसी घिमिरेले पनि सरकारी जागिर छाडेर सिनेमालाई अंगालेका हुन् । उनी भारतीय सेनामा भर्ति भएका थिए । उनलाई सानै देखि सिनेमामा आउन मन थियो । यहि कारण नै उनले सेनाको जागिर छाडेका हुन् । उनले सेनामा ६ महिना बिताए । अर्थात ६ महिने ट्रेनिङ पछि उनले आर्मीलाई अलविदा भनेर सिनेमामा काम शुरु गरे । उनको पारिवारिक पृष्ठभूमि नै आर्मी भएका कारण उनी आर्मीमा भर्ति भएका थिए । उनका बुवा र तीनजना दाजुहरु पनि आर्मी नै हुन् ।
अहिले तुलसी नेपाली सिनेमाको ईतिहासमा एक सफल निर्देशको रुपमा स्थापित भईसकेका छन् । दर्पण छायाँले नेपाली सिनेमाको ईतिहासमै पहिलो पटक सिंगल थियटरमा सय दिन मनाएको थियो । कुसुमे रुमाल, देउता, दक्षिण, दर्पणछायाँ लगायत दर्जन बढी सुपरहिट चलचित्र उनले दिइसकेका छन् ।
अझै पनि हाम्रो समाजमा सरकारी जागिर गर्नेको सान, मान र ईज्जत नै छुट्टै हुन्छ । छोरीको बिहे गर्नु पर्यो भने पहिला जागिर के गर्नु हुन्छ भनेर सोधिन्छ र यदि सरकारी जागिरे रैछ भने ल छोरी पाल्न सक्छ भनेर विश्वास गरिन्छ । बेरोजगारीले थलिएका धेरै शिक्षित युवाहरु लोक सेवा र सरकारी जागिरको प्रतीक्षा गर्दा गर्दै जीवनको लगभग आधा समय नै बिताई दिन्छन । प्राईभेट जागिर भन्दा सरकारी जागिरको क्रेज कति छ भनेर त २ सय मागेको ठाउँमा २ हजार युवाहरुले फाराम भरेको देख्दा नै थाहा पाऊनु हुन्छ । तर यहाँ यस्तो व्यक्तिहरु पनि छन् ,जसले हुदा खादाको सरकारी जागिर छाडेर कलाकारितामा लाग्ने मुर्खता गरेका छन् । उनीहरुले नराम्रो गर्न खोजे ,यो त बिलकुलै होइन, किनकि मानिसले जुन सुकै काम गर्दा पनि आफुलाई सुहाउने र आफ्नो रुचि के मा छ त्यहि गर्नु पर्छ, अनि मात्र सफल हुन सकिन्छ ।