१ भाद्र २०७७, सोमवार
बारामा पानी निकासको विषयलाई लिएर गाउँलेबीच झडप हुँदा वडा अध्यक्षसहित ९ जना गाउँले र ४ प्रहरी घाइते भएका छन् ।
आदर्श कोतवाल गाउँपालिका-६ का वडाध्यक्ष मधुसुदन जयसवाल सहित प्रहरी र गाउँलेहरु घाईते भएका हुन् । सिम्रौनगढ नगरपालिका-११ को भगवानपुर र आदर्श कोतवाल गाउँपालिका-६ को पटेर्वा दुई गाउँलेको विचमा झडप भएको हो ।
भगवानपुरका गाउँलेहरु कुलो थुनेर माछा मारिरहेपछि कुलोको पानीले पटेर्वा गाउँका धान खेत डुबानमा पर्न थालेपछि पटेर्वाका वडाध्यक्ष मधुसुदन जयसवाल सहितका गाउँलेहरु थुनिएको कुलो खुलो खुलाउन थाल्दा झगडा हुन शुरु भएको हो ।
स्थिति निणन्त्रण वाहिर गएपछि अश्रुग्यास र हवाई फायर गरिएको प्रहरीले वताएको छ । गाउँलेले पटेर्वा चोकमा रहेका भगवानपुरका केही पसलसमेत तोडफोड गरेका हुन् ।
घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
झडपले उग्ररुप लिन थालेपछि सिम्रौनगढ इलाका प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर र ६ सेल अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेका थिए । अहिले विस्तारै अवस्था समान्य वन्दै गैरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पुगेपछि स्थिति सामान्य बन्दै जान थालेको हो । अहिले सो स्थानमा ब्यापक प्रहरी परिचालन भएको छ ।