नेपाल एक बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक धर्म निरपेक्ष गणतन्त्र राष्ट्र रहेको हामी सबैमा सर्वविदित्तै छ । यी विविधता भएपनि देशभित्र हामी एउटै माला भई समेटिएर रहेका छौँ । यसै मालाभित्र समेटिएर रहने पूर्वी नेपालको तराई भेगमा आदिम कालदेखि रहँदै आएको एक अल्पसंख्यक आदिवासी जाति हो, धिमाल ।
विशेषतः धिमाल जातिको बसोबास स्थल पूर्वी तराईको मोरङ, झापा र सुनसरी जिल्ला हो । पहिले घनघोर जङ्गल, हिंस्रक जीवजन्तु तथा औलोको महामारीसँग लुकामारी खेल्दै हाल यो अवस्थामा आइपुगेको छ । आजभन्दा ७५÷८० वर्षअघि तराईमा धिमाल, सन्थाल, थारु, राजवंशी आदि बाहेक अन्य जातिको आगमन थिएन । धिमाल जाति बारे विदेशी तथा स्वदेशी विद्वानहरुले प्रष्ट रुपमा प्रष्ट्याएका छन् । भलै यस जातिको लिखित इतिहास छैन, तर सामाजिक इतिहास भने हालसम्म यथावत छ । तुलसी दिवसद्वारा लिखित ‘धिमाल लोक धर्म र संस्कृति’मा धिमाल जातिलाई मधेशको किराँती भनिएको छ । धिमाल जातिको बसोबास पश्चिममा कोशी नदी र पूर्वमा मेची नदीसम्म रहेको प्राचीन अध्ययन सामग्रीहरुबाट प्रष्ट हुन्छ ।
यस जातिको बारेमा बेलायतका ब्रायन एच. हड्सनले आजभन्दा २ सय ३० वर्ष अघि कलम चलाएको पाइन्छ । उनले सन् १८४७ मा Essay the First on the Kocch, Bodo and Dhimal Tribes मा धिमालका हरेक कुराहरु समेट्न कोसिस गरेका छन् । त्यो २ सय ३० वर्षअघि यस भू–भागमा धिमाल जातिको बसाई औधी रहेको उल्लेख छ । कन्काई नदी र तोर्षा नदी आसपासमा धिमालको जनसंख्या १५ हजार रहेको उल्लेख छ । हड्सनका अनुसार यो संख्या कन्काई पूर्व मात्रै रहेको उल्लेख छ ।
यता वि. सं. २०६८ सालको राष्ट्रिय जनगणनामा धिमालको जनसंख्या २६ हजार २ सय ९८ उल्लेख छ । धिमालको जनसंख्या १ सय २१ वर्षसम्ममा ११ हजार २ सय ९८ मात्र वृद्धि भएको देखाएको छ। यस जातिको बसोबास कन्काई पूर्वभन्दा पश्चिममा धेरै छ । धिमाल जातीय विकास केन्द्रले भने ५० हजार जनसंख्या रहेको दाबी गर्दै आएको छ । धिमाल जातिबारे कलम चलाउने मानवशास्त्री, समाजशास्त्री, इतिहासविद् तथा लेखक यस विषयमा सहमत भएको पाइन्छ । ऋषि केशवराज रेग्मीः The Dhimal Miraculous Migrants of Himal सन् १९९१ तथा तुलसी दिवसः प्रदर्शनी धिमाल लोक संस्कृति २०३९ “धिमालहरु किरात इङ्वाका दश भाइ छोरा मध्ये कान्छा थाङ्दावाका जेठा छोरा धिकोम्पाका सन्तान हुन्” भन्ने यी विद्वानको भनाइ छ । उल्लेखित विषयमा धिमाल अग्रजहरु र धिमाल समुदाय सहमत भएको पाइन्छ ।
हड्सनले धिमाल जाति हिन्दू आर्यभन्दा फरक समुदाय भएको दाबी गरेका छन् । यस जातिको बसाइको प्रकृति हेर्दा गोरखा आक्रमण पूर्व यस क्षेत्रमा राज्य गरेको अनुमान गरिएको छ। धिमाल जनश्रुति अनुसार पृथ्वीनारायण शाहको सेनासँग सेनापति बाङ्गाई र सुगईले चतरा घाटमा सात दिन, सात रात लडाइँ गरेको अनुमान छ । इतिहासमा लिखित रुपमा उल्लेख नभएपनि धिमाल पुर्खाहरुले मौखिक इतिहास बताउँदै आएका छन् । यसको राज्यले दस्तावेजीकरण गरेको पाइँदैन ।
धिमाल जातिको नामाकरण र उत्पतिको प्रसंगमा अनेकौँ कुराहरु आएका पाइन्छन् । ‘धि’ को अर्थ नदीको छेउ र ‘मालो’ को अर्थ बेपत्ताबाट बनेको धिमालोबाट धिमाल भएको भन्ने भनाई श्रेष्ठ २०२८–४७ ले प्रष्ट्याएका छन् । केही धिमालहरु उत्तर पूर्वबाट आएको हुनाले हिमाल शब्दबाट धिमाल बनेको भन्ने भनाई रेग्मी १९७१–२२–२३ ले प्रष्ट्याएको छ । थारु, राजवंशी जातिहरुले ऊ बेला ‘ढेमाल’ भन्ने गर्दथे । धिमाल अग्रजका भनाई अनुसार ढेमाल शब्दको अर्थ धिमाल भाषामा ‘ढे’ को अर्थ छुट्टिएको र ‘माल’ को अर्थ मधेस भन्ने गरेको पाइन्छ । बहुसंख्यक धिमालहरुले किराँत शाखाका लिम्बू तथा राई दाजुभाइ थिए छुट्टिन गई मधेशमा बस्न थालेको प्रसंग तुलसी दिवश २०३९–२ सँग मेल खान जान्छ ।
धिमाल जातिले सामाजिक संस्कारलाई जन्म, मृत्यु र विवाह मुख्य तीन भागमा विभाजन गरेको पाइन्छ । बच्चा जन्मिसकेपछि बच्चा जन्मेको कति दिनमा नाभी झर्छ, सोही दिन सुत्केरी चोखिने र बच्चाको नामाकरण गरिने चलन छ । गाउँ टोलको मुख्य व्यक्ति मार्फत नाम राखिदिने वा घरको अग्रज व्यक्तिबाट नाम राखिदिने चलन छ । बच्चाको नाम साइत वा ग्रह दशा हेरेर राखिँदैन । बच्चा जन्मेको अवस्थाको स्थिति, वातावरण, बार, मौसम, घटना क्रम आदि जस्ता कुरालाई मध्यनजर गरी आप्mनै परम्परागत तरिकाले नाम राखिदिने चलन छ । छोरा र छोरी हुनुमा कुनै भिन्नता राखिँदैन तर पितृसत्तात्मक संस्कारका कारणले छोरा भए वेश भन्ने भावना छ । हाल आएर परम्परागत तरिकाले नाम राखिदिने चलन हराउँदै गएको अवस्था छ ।
धिमाल समुदाय भित्र केही अप्ठ्यारा र अचम्मित तरिकाले विवाह हुने गरेको थियो । तर, हाल आएर सुधार भनौँ या रीतिरिवाज भुल्दै गइरहेको भन्ने अनुमान छ ।

सुपारी विवाहः
ऊ बेला आफूले मन पराएको केटीलाई फकाई सुपारी खान दिने, खाएमा विवाहको स्वीकारोक्ति भएको बुझिने चलन थियो । र, सोही अनुरुप विवाह गरिन्थ्यो । हाल यो परम्परा पूर्ण रुपले अन्त्य भइसकेको छ ।

जबर्जस्ती वा चोरी विवाहः
प्राचीन कालमा आफूले मनपराएकी केटी भए वा केटी राम्री देखे सो केटी हाटबजार, मेलापात वा एक्लै कतै गएको बेला मौका पारी सके एक्लै नसके केही साथीहरुको सहयोगमा घर भित्र्याउने गरिन्थ्यो । घर भित्र्याई सकेपछि सदाको लागि श्रीमती हुने र घरको बुहारी हुने चलान थियो । केही दिन वा महिना आफन्तकोमा राखी आफ्नो गाउँ फर्किने चलन थियो । हाल आएर यो प्रवृत्ति पूर्ण रुपले रोकिएको छ ।
ऊ बेला ठिकै थियो होला तर हालको समयसम्म आइपुग्दा विकृति हो की भन्ने मनसायले परिमार्जन भएको अवस्था छ । मनपरेकी केटी माग्दा विविध कारणले नदिने भएकाले सुपारी विवाह र जबर्जस्ती वा चोरी विवाह हुन्थ्यो की भन्ने अनुमान गर्न सकिन्छ । ऊ बेला जमिन्दार, मुखिया जस्ता परिवारभित्रका सदस्यहरुले र बल, बैंश हुनेले जे पनि गर्न सक्ने अवस्था थियो।

मागी विवाहः
यसमा नातागोता पर्ने हो या होइन सोधखोज गरिन्छ । नाता नपर्ने भए गाउँका बुढापाका, आफन्तहरुको एक समूह विधिअनुसार रक्सी, सुपारी, पान, सुकमेल, ल्वाङ, मिठाई, बिंडी, चुरोट आदि लिएर केटीको घरमा जाने चलन छ । पहिलो पटकमा कुनै प्रतिक्रिया नआए त्यसरी नै दोस्रो पटक जाने गरिन्छ । दोस्रो पटकमा पनि प्रतिक्रिया नआए तेस्रो पटकमा केटी दिने या नदिने टुङ्गो गर्ने चलन छ । केटी नदिने भए पहिलो पटकमै अस्वीकार गरिन्छ । यदि दिने निर्णय भए सोही दिन तिथि मिति तोकी विवाहको चाँजोपाँजो मिलाउन सुरसार गरिन्छ । विवाह आफ्नै जातीय पहिरन, रित, दुधौली, गाउँको रित र जातीय संस्कार परम्परा अनुसार सम्पन्न गरिन्छ । ऊ बेला ज्वाइँले छोरी पल्न सक्छ की सक्दैन भनी जाँच गर्न केटालाई केही हप्ता वा महिनासम्म केटीकै घरमा राखेर हलो जोत्न, आली लाउन, छाना छाउन, डोरी बाट्न लगाएर काम हेरेर मात्र छोरी दिने चलन थियो ।

मृत्यु संस्कारः
धिमाल जातिको मृत्यु हुँदा आफ्नै जातीय संस्कार अनुसार गर्ने चलन छ । कालान्तरमा कसैको मृत्यु भए गाड्ने चलन थियो । हाल जलाउने र गाड्ने चलन बराबर छ । जलाउँदा होस् या गाड्दा जातीय रीति र संस्कार भने हालसम्म यथावत छ । जलाउने वा गाड्ने कार्य सकिसकेपछि रक्सी, चामल र मृतकको नाममा कुखुराको चल्ला पूजा गरी विधि अनुसार छोड्ने चलन छ । ऊ बेला मृतकले प्रयोग गरेका सामान जलाउने वा गाड्ने चलन थियो । हाल त्यसो गरिन्न । ऊ बेला अविवाहित केटा या केटीको मृत्यु भए लास गाडिएको ढिस्को माथि केराको बोट वा कुनै फूल रोपीदिने चलन थियो तर हाल यो चलन हराउँदै गएको छ । मृत्यु संस्कारमा परिवार भित्रको एक जना किरिया बसे मिल्ने सबै बस्नु नपर्ने चलन छ । किरिया बस्ने व्यक्तिले नुन, तेल खान मिल्दैन । कम्तीमा तीन बढीमा एघार दिनसम्म किरिया बस्ने चलन छ । हाल तीन वा पाँच दिन भित्रमा चोखिने गरेको पाइन्छ। चोखिने दिन वंशहरु सबैले मुन्डन गर्ने चलन छ । सो दिन मृतकको नाममा बली दिएको कुखुराको मासु खाई चोखिने चलन छ । नियम वा विधि जान्ने एक धिमाललाई बाहुन बनाई उपस्थित वंशजहरु, आफन्त, मलामीजन, छरछिमेक सामु चोखिने चलन छ । आफ्नो वंशहरु काजकिरियामा अनिवार्य उपस्थित हुने नियम छ । यसो गरे नयाँ पिँढीहरुले आफ्नो वंश चिन्ने अवसर मानिन्छ । कसले कति सहयोग गरे र को–को उपस्थित भए भन्ने रेकर्ड राखिन्छ । सो दिन उपस्थित नभएका वंशजहरु कसैको काजकिरियामा जरिवाना गर्ने चलन छ ।

पहिरनः
महिला र पुरुषले लगाउने आफ्नै जातीय पहिरन छ । आफ्नै हातबाट निर्माण गरिएको महिलाले लगाउने कपडालाई पेटानी वा बोना भनिन्छ । जुन लुदाबोना, दाबोना, सामुठी, इताङ्गी र पातोलोई ५ प्रकारका हुन्छन् र भिन्न डिजाइन हुन्छ । यी मध्ये लुदाबोना प्राचीन मानिन्छ । कपडाको पृष्ठभूमि पुरै कालो हुन्छ र राता धर्का हुन्छन् । यसको प्रयोग छातीदेखि पिँडुलासम्म वारपार छोपिने गरी कम्मरमा सेतो पटुकी बाँधेर लगाइन्छ र चोलोको प्रयोग गरिँदैन । हाल चोलो प्रयोग गरी लगाएको पनि पाइन्छ । दाबोना बढी प्रयोग भएको पाइन्छ । गरगहनाहरुमा धिमाल महिलाहरु सौखिन र धनी देखिन्छन् । प्रायः चाँदीबाट निर्मित खुन्तला, नादाई, काठीमाला, गाँसमाला, वीसमाला, हारी टाकामाला, चन्द्रहार आदि र सुनबाट निर्मित कानाउसी, नाकमुन्द्री, कानाइला पर्दछ । महिलाहरुमा विशेषतः केश (कपाल) विन्यासमा औधी रुचि रहेको पाइन्छ । जसमा जुरखोपा, लोताङ खोपा, विन्दा खोपा, साइतर खोपा पर्छन् । जुरखोपा बढीले बनाउने गरेको पाइन्छ । प्राचीन जनविश्वास अनुसार गोद्ना बनाउने चलन थियो । जुन आफू मरेपछि सँगै लान सकिन्छ । यो संस्कार वा मान्यता धिमाल महिलामा यथावत रहेको पाइन्छ । त्यस्तै पुरुषहरुमा सेतो धोती, पाखुटा, गन्जी, चेउधारी र आस्कोट प्रयोग गर्दथे । हाल पुरुषहरुले प्रयोग गरेको पाइदैन । विशेष कार्यक्रम र काजकिरियामा यदाकदा प्रयोग गरेको पाइन्छ । विशेषतः पहिरन वा भेषभुषाको सवालमा पुरुषहरुले भन्दा महिलाहरुले जातीय अस्तित्व जोगाइ राखेको छर्लङ्ग छ ।

धर्मः
आदिम कालदेखि हिन्दू धर्म शास्त्रमा भएका देवीदेवताहरुलाई स्वीकार नगरी आफ्नै मौलिक तरिकाले प्रकृतिलाई सर्वशक्तिमान ठानी प्रकृतिको पूजाआजा गरेको पाइन्छ । यदि हिन्दु हो भने सबै कर्मकाण्ड हिन्दू धर्म अनुसार नै गरिन्थ्यो तर किन फरक भयो त ? कुनै विकसित मन्दिर छ, न त देवी देवताको प्रतिमा, न त फोटो । प्रकृतिलाई पुकार्दै पुज्ने भएकाले धर्मको सवालमा प्रकृति धर्म ।

घर भित्रको देवता सालिबेराङ र बाहिरको देवता ग्रामथानमा गरिनेः
हरेक धिमालहरुको घर भित्रको पूर्व कुनामा माटो उठाएर दियो, कुचो वा कुशलाई देउता मानी पूजा गरिन्छ । पूजा जतिखेर वा जुनै बेला पनि गर्न सकिन्छ । त्यस्तै घर बाहिर गरिने पूजा भन्नाले धिमाल बस्तीको पूर्वपट्टि सामान्य रुपले स्थानीय स्रोत र साधनबाट निर्मित महाराज ग्रामथानमा गरिने पूजा हो । यसलाई सिरिजात वा जात्री समेत भनिन्छ। यो पूजा सामुहिक रुपमा गरिन्छ। नेपालभर ९८ वटा धिमाल गाउँ टोल छन्। प्रत्येक नयाँ वर्षको सुरुवातसँगै बैशाख २ गते मोरङको साविक भोगटेनी राजारानी धिमाल डाँडाबाट सुरु भई असार २ गते उर्लाबारी मंगलबारेको धिमाल जातीय विकास केन्द्रमा समापन हुन्छ । विशेषतः पूजामा फलफूल, धुपबत्ती साथै हाँस, कुखुरा, परेवा, सुँगुर बली दिने परापूर्व कालदेखिको चलन हालसम्म जारी छ । थानभित्र कुनै फोटो वा प्रतिमा हँुदैन। माटोद्धारा हस्तनिर्मित हात्ती, भेडा र बाख्राको मूर्ति हुन्छ । सोहीलाई मुख्य देवता मान्दै राधरम, देरागेलाई, महाराजा, धरम ठाकुर, दिय बेराङ, धार्नी बेराङ, जस्ता देवता पुकारी पुज्ने वा पूजा गरिन्छ। मेला लगाएर ढोल प्रतिष्पर्धा गराएमा यसलाई जातिरी भनिन्छ भने मेला नलगाई ढोल प्रतिष्पर्धा नगराई सामुहिक पूजाआजा मात्रै गरिएमा सिरिजात भनिन्छ। यसरी पूजा गरेमा आफ्नो गाउँ टोल वा परिवार भित्र अतिवृष्टि, अनावृष्टि, अनिष्ट नहोस्, बाली सप्रियोस्, उब्जनी बढो्स, रोगव्याधि नलागोस्, जीव जनावरले दुःख नदियोस् र नयाँ फल फलाएपछि जहाँबाट फलाएको हो, जसले फल दियो उसलाई चढाएमा राम्रो मानिने विश्वास छ । मेला वा पूजामा टाढाटाढाका आफ्नो आफन्त भेटघाट र खुब रमाइलो गर्ने चलन छ । यसलाई आफ्नो महान चाड समेत मान्दछन् ।
त्यस्तै, दोस्रो मुख्य चाड भनेको तिहार (पार्वा) लाई लिने गरिन्छ । यस चाडलाई अत्यन्तै महत्वपूर्ण ठानिन्छ । टाढा रहेका आफन्तहरु सिरिजात वा जात्रीमा नआएपनि यस बेला आउने गर्दछन् । भव्य रुपमा धिमालको प्रत्येक घरमा पूजा गरिने चलन छ । आँगनको पूर्वपट्टि केही भाग अस्थायी घेरावारा गरी आ–आफ्नो थर अनुसार हाँस, कुखुरा, परेवा, सुँगुर, अण्डा आदि भोग दिने चलन छ । यस बखत पितृलाई भोग, कृषिमा प्रयोग हुने सामानलाई भोग, घरलाई भोग दिने तथा बाटो, खोला नाला, वनजङ्गल, जीव जनावरलाई पुज्ने गर्दछन् । अन्य चाडपर्व भनेको समुदायप्रतिको मेलमिलाप र सद्भावका लागि मनाउने गरेको पाइन्छ।

खानपिनः
खानपिनको कुरा गर्दा आफ्नै जातीय परिकारहरु प्रसस्त भएको पाइन्छ । ऊ बेला धिमाल जाति कन्दमुल खोजी खाने बुढापाकाहरुको भनाई छ । विशेषतः चाड पर्व र पूजाआजामा आफ्नै जातीय खानपिन बनाउने गर्दछन् तर आजभोलि त्यो चलन हराएर गएको पाइन्छ । चिचिरि भात जो एक प्रकारको चामलबाट बनाइन्छ, बगिया जो चामलको पिठोद्वारा बनाइन्छ, कुरुङ जो चामल भुटेर बनाइन्छ, मासुमा आफ्नो मनले रुचाएसम्म सबै खाने चलन छ । यस्तै, फलफूलहरुमा प्रायः सबै प्रकारका र खोजी खानेमा डिङडिङ, जिह्राम, घुँगी, सिपी, गँगटा, माछा, गोहोरो आदि, मादक पदार्थमा जाँड, रक्सी, तोङ्वा, निगार, घेन्सी आदि खाइन्छ ।

लोक नृत्य, लोक बाजा, नाटक र शैलीः
धिमाल जाति आदिम कालमा आफ्नै नृत्य, बाजागाजा, नाटक, गीत आदिमा अडिग रहेको पाइन्छ । पूजापाठ, चाड पर्व र सोही अनुसारको गीत साथै नृत्य रहेको छ । आफ्नै लोक नृत्य लोक जीवनमा प्रचलित परम्परा हो भने रीतिरिवाज, लोक धर्म, विश्वास, जातीय विचारधारा एवम् संस्कार सम्मिलित र प्रतिबिम्बित भएको पाइन्छ । विशेषगरी चाडपर्वमा गरिने नृत्य, धान काट्न सक्दाको नृत्य, सिरिजात तथा जात्रीमा गरिने नृत्यहरु आदि फरक परिवेश र अवस्थाका नृत्यहरु हुन् । जसमध्ये तिहारमा नाचिने नृत्यहरु, पेटानी बुन्दाको नृत्य, पोयामारी नृत्य, तोङका नृत्य, खाइलो नृत्य, थोका नृत्य आदि छन् । त्यस्तै, विवाहको दिन न्हाकालाई नृत्य, वाजालाई नृत्य, वाराङ्गेलाई नृत्य, बेदाङ्गी नृत्य नाच्ने चलन छ । सिरिजात तथा जात्रीमा गरिने नृत्यहरुमा दिर नृत्य, ढोल नृत्य, चेङचेङ बेङबेङ नृत्य, बिन्दा हेर्का नृत्य आदि छन्। प्राचीन समयमा साहित्य, कला र संस्कृतिको जगेर्ना गर्ने गरिन्थ्यो तर हाल आएर यस्ता कार्य भएको पाइदैन ।
यस जातिको हरेक जीवनशैली आफ्नै किसिमको छ र समुदायसँग गाँसिएर बसेको छ । यस्तो जीवनशैली झल्काउने कुराहरुलाई धिमाल भाषामा पोदो (ताल अथवा लय) भनिन्छ । एक प्रकारको बाजा उर्निको पोदो, सरस्वती पोदो, कुर्जा कुका पोदो, तोङका पोदो, बेजालाइहेङ लाइपाका पोदो, उन्खु झोका पोदो आदि । यस्तै ढोलमा पनि न्हाका पोदो, देराघुराइका पोदो र चिजुराइका पोदो आदि । बाजागाजाहरुमा ढोल, उर्नी, गोमाना, तुन्जाइ, शेरेन्जा, दोदोरा आदि मुख्य हुन् । यी बाजाहरु प्राचीन कालदेखि प्रयोग र संरक्षण गर्दै आएको पाइन्छ तर हालसम्म आइपुग्दा प्रयोग त्यति भएको पाइदैन । यी सबै आफँै निर्माण गर्ने गरिन्छ तर केही समय पछि लोप हुने प्रबल सम्भावना छ । धिमाल जातिको मुख्य पेसा भनेको कृषि नै हो । तर, हालको बद्लिँदो परिस्थिति अनुसार पेसा परिवर्तन हुँदै गएको छ । यसो हुनुमा अपरिहार्य र समयको माग पनि भन्न सकिन्छ । धिमाल समुदायका मानिसहरु शिक्षा, चेतना, स्वास्थ्य, राजनीति, रोजगार, सरकारी निकाय, आर्थिक लगायत धेरै कुराहरुमा ज्यादै कम छ ।
यी विषयहरुलाई सन्तुलनमा ल्याउन धिमाल जातीय विकास केन्द्र स्थापना भएर लागि परेको अवस्था छ । अबका धिमाल युवाहरु र आउने पिंढीमा समुदाय भित्र अध्ययनको खाँचो छ भने अनुसन्धान र खोजको गर्न आवश्यक छ । अबका पढे लेखेका नयाँ पुस्ताले ध्यान पु¥याउन आवश्यक छ । त्यस्तै जातीय संस्थाले पनि धिमाल शैली र परम्पराहरुलाई बद्लिदो परिवेश अनुसार परिवर्तन साथै जगेर्ना गर्न आवश्यक देखिन्छ । जुनसुकै ठाउँ र परस्थितिमा रहेपनि आम धिमाल समुदायका व्यक्तिहरु लागि परे धिमाल जातिको विकास सम्भव छ । यसमा दुई मत छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय