काठमाडौँ । लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
उनीहरुलाई आज कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले उनीहरुलाई वुधबार बेलुका ७ बजेतिर लागूऔषधसहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । उनीहरुबाट प्रहरीले १३.०१ ग्राम ब्राउन सुगर फेला पारेको छ । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८, ३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।
प्रहरीका अनुसार लाउरेले ड्रग नलिँदासम्म स्टेज नै उक्लिन नसक्ने भनेर प्रारम्भिक बयान दिएको बताइएको छ ।
कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।