वि. सं. २०४३ मा स्थापित मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा रहेको यस क्षेत्र कै पुरानो उच्च शैक्षिक संस्था उर्लाबारी बहुमुखी क्याम्पस गुणस्तरीय शिक्षामा अब्बल बन्दै गइरहेको अवस्थामा उप– प्राध्यापक खेमराज कार्की क्याम्पस प्रमुख हुनु भएको छ । स्वार्थभन्दा माथि उठेर काम गर्ने उदेश्यका साथ यस क्याम्पसले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम र कर्मठ जनशक्ति उत्पादन गरेर समुदायलाई अग्रगति दिने लक्ष्य बोकेको क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख कार्कीसँग हामीले गरेका कुराकानीका केही अंशहरु यहाँ प्रस्तुत गरिएको छ ः
सामुदायिक क्याम्पसहरुको अहिलेको अवस्था कस्तो छ र यसलाई सुधार गर्न के के गर्नुपर्छ ?
– सामुदायिक क्याम्पस भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भने सामुदायिक क्याम्पसहरू सम्पूर्ण रूपमा समुदायको प्रयत्नबाट स्थापित र सञ्चालित हुन्छन् । यो किसिमका क्याम्पसहरूको व्यवस्थापन, रेखदेख, स्तरोन्नती र नियमनसम्मका सम्पूर्ण पक्षहरूमा विशेषतः समुदायकै पहल कदमी तथा नेतृत्व अग्र स्थानमा रहने गर्दछ । समुदायको अलावा यस्ता क्याम्पसहरूको कार्यसम्पादनमा क्याम्पसलाई सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय, विश्वविद्यालयहरूलाई राष्ट्रिय रूपमा नेतृत्व गर्ने विश्वविद्यालय अनुदान आयोग तथा नेपालका तीनओटै सरकारहरूको चासो तथा सरोकार पनि अत्यन्तै महत्वपूर्ण हुने गर्दछ ।
जहाँसम्म “सामुदायिक क्याम्पसहरुको अहिलेको अवस्था कस्तो छ?” भन्ने सवाल छ, यसमा त सम्बन्धित सामुदायिक क्याम्पस कहिले स्थापना भएको हो, यो कहाँ अवस्थित छ अर्थात् कुन भौगोलिक क्षेत्रमा र कति जनघनत्व भएको स्थानमा क्याम्पस रहेको छ, क्याम्पसले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरू कस्ता छन्, क्याम्पसमा भौतिक पूर्वाधार एवम् शिक्षण सिकाइको व्यवस्था कस्तो छ, आन्तरिक परीक्षा तथा नियमित विद्यार्थी पृष्ठपोषणको प्रक्रिया के छ, जस्ता यावत पक्षहरूमा मिहिन विश्लेषण गर्नुपर्छ र मात्रै सहि निष्कर्शमा पुग्न सकिन्छ ।
त्यस्तै, जुन तपाइको सुधारसँग सम्बन्धित सवाल छ, त्यसमा त के छ भने हरेक क्याम्पसका आ–आफ्नै प्रकारका समस्याहरू हुन्छन्, छन् ।
उसो भए उर्लाबारी बहुमुखी क्याम्पसको हालको अवस्था कस्तो छ ? बताइ दिनुहोस् न ।
– यो साह्रै सान्दर्भिक प्रश्न सोध्नु भयो । यसका लागि तपाइलाई धन्यवाद । हाम्रो क्याम्पसको इतिहाँस लामो छ । म अहिले त्यतातर्पm जान चाहदिन । मेरो ध्यान मूल प्रश्नमै छ । उर्लाबारी बहुमुखी क्याम्पस अहिले बलियो अवस्थामा छ । यसका थुप्रै कारणहरू छन् । जस्तैः यो क्याम्पस उर्लाबारीको मुटुमै राष्ट्रिय राजमार्गदेखि लगभग १५० मी. को दुरीमा साह्रै पायक परेको स्थानमा अवस्थित छ । त्यसै गरी यहाँ कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यन गर्ने सुनौलो अवसर पनि छ । हाम्रो क्याम्पस सामुदायिक क्याम्पस भएको तथा विशुद्ध रूपमा नाफा रहित तथा सेवामूलक शैक्षिक संस्था भएको हुनाले यहाँबाट प्राप्त हुने शिक्षा सर्वसुलभ छ । गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्ति लगायतका व्यवस्थाहरू रहेका छन् । यसका साथै शैक्षिक रूपमा पछाडि परेका जनजाति विद्यार्थीहरूका सन्दर्भमा सतप्रतिशतसम्म शुल्क मिनाहाको प्रावधान समेत रहेको हुनाले आर्थिक अभावकै कारण बिचैमा पढाइ छाड्नु पर्ने बाध्यताबाट हाम्रा विद्यार्थी भाइबहिनीहरू मुक्त प्रायः छन् । हाम्रो क्याम्पसमा कार्यरत शिक्षकहरू अत्यन्तै प्रतिस्पर्धी, मेहनती र जुझारु हुनुहुन्छ । यहाँको मुख्य आकर्षण भनेको हाम्रो पुस्तकालय पनि हो किनकी हाम्रो पुस्तकालयमा १८ हजार थान पाठ्यपुस्तक र सन्दर्भ पुस्तकहरू रहेका छन् । त्यसै गरी हामीसँग अनलाइन पुस्तकालयको पहुँच पनि छ जुन यस क्षेत्रका अन्य शैक्षिक संस्थाहरूमा नहुन पनि सक्छ किनकी लागत तथा व्यवस्थापन लगायतका दृष्टिकोणले अनलाइन पुस्तकालय त्यति सहज कुरो होइन ।
भौतिक पूर्वाधार र त्यसको समग्र व्यवस्थापनका हिसाबले पनि उर्लाबारी बहुमुखी क्याम्पस क्रमशः सक्षम र आत्मनिर्भर हुँदै गइरहेको पक्ष घाम जस्तै छर्लङ्ग छ । हाल हामीसँग दुईओटा बिशाल शैक्षिक भवनहरू सञ्चालनमा छन् । एउटा प्रशासनिक भवन सञ्चालनमा छ । साथै तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत एउटा कम्युटर ल्याबको पहुँच सहितको सुबिधा सम्पन्न पुस्तकालय भवन निर्माण कार्यको अन्तिम चरणमा छ । त्यसका साथै राष्ट्रिय योजना आयोगको पाँच करोड पैँसठ्ठी लाख रुपैयाँ अनुदान सहयोगमा एउटा अर्को शैक्षिक प्रशासनिक भवनको पहिलो तला निर्माण कार्य सम्पन्न प्राय भइसकेको छ । त्यस्तै क्याम्पस परिसरको पश्चिम तर्पmको भवनको तेश्रो तलामा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा ३५० सिट क्षमताको सुबिधा सम्पन्न सभाहल निर्माण कार्यको अन्तिम चरणमा छ । यसबाट समग्रमा मैले प्रस्ट पार्न चाहेको कुरा के भने उर्लाबारी बहुमुखी क्याम्पस समुदाय, सरोकारवाला, सरकार तथा सम्बद्ध सबै पक्षको निरन्तर सहयोग र हौसलाका कारण एक सबल, सक्षम र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा उभिन सफल संस्था हो ।
क्याम्पस प्रमुख ज्यू, भौतिक पूर्वाधारका साथ साथै क्याम्पसको शैक्षिक गुणस्तर पनि अत्यन्तै मजबुत हुनुपर्छ होला । उर्लाबारी बहुमुखी क्याम्पसले प्रदान गर्ने शिक्षाको गुणस्तरका मानक के के छन् ? समग्रमा यहाँको शैक्षिक गुणस्तर कस्तो रहेको छ ?
– वास्तवमा कुनै पनि शैक्षिक संस्थाको प्रमुख पक्ष भनेकै त्यहाँको शिक्षाको गुणस्तर नै हो । अहिले “गुणस्तरिय शिक्षा” सस्तो नाराका रूपमा सबैका मुखबाट सुन्न पाइन्छ तर वास्तवमा कस्तो शिक्षालाई गुणस्तरिय भन्ने र त्यसका मानकहरू के हुने तथा एउटा निश्चित तहसम्मको शिक्षा पूरा गरेको मानिसमा के कस्ता आधारभूत सिपहरू रहनुपर्छ भन्ने कुराहरू प्रमुख हुन्छन । हाम्रो क्याम्पसले दिने शिक्षाको गुणस्तरीयताका मानकहरू मध्ये यहाँका विद्यार्थीहरूको पास प्रतिशत एउटा महत्वपूर्ण मानक हो । औसतमा भन्नुपर्दा हाम्रा विद्यार्थीहरू अन्तिम परीक्षामा सफल हुने दर लगभग ७०% सम्म रहेको छ र यो दर उच्च शिक्षामा पूर्व क्षेत्रकै सर्वाधिक हो भन्दा फरक नपर्ला । त्यसै गरी विश्वविद्यालयका परीक्षामा प्राप्त हुने सफलता गुणस्तर मापनको एउटा पाटो हुन सक्ला तर जीवनमा अर्थात जीवनका परीक्षाहरूमा कसरी खरो उत्रीने भन्ने पक्ष अर्को महत्त्वपूर्ण पाटो होला । त्यसैले हामी चाहिँ गुणस्तरीय शिक्षाका सवालमा माथि भनिएका दुबै पक्षहरूमा सन्तुलनमै रहेर हाम्रा कार्यक्रमहरू सञ्चालन गर्दछौँ । यसको अर्थ के भने शैक्षिक गुणस्तर कायम गर्न हामी शैक्षणिक तथा व्यक्तिका व्यवहारिक दुबै पक्षहरूमा अत्यन्तै सम्बेदनशील भएर कार्य गर्दछौँ ।
शिक्षाको गुणस्तर कायम गर्न हामी नियमित कक्षा सञ्चालनका अतिरिक्त नियमित आन्तरिक परीक्षाहरू सञ्चालन गर्दछौँ । आन्तरिक परीक्षामा विद्यार्थीले देखाएको प्रस्तुतिका आधारमा समयमै जोखिममा रहेका विद्यार्थी पहिचान गरी उनीहरूलाई आवश्यक पृष्ठपोषण प्रदान गर्ने तथा आवश्यक परेमा थप सहायताका लागि अतिरिक्त कोचिङ कक्षाहरू पनि सञ्चालन गर्ने गर्दछौँ । यसरी थप सहायताका लागि सञ्चालन गरिने कोचिङ कक्षाहरू निशुल्क हुन्छन् । साथै विभिन्न समयमा ख्याति प्राप्त भिजिटिङ प्रोफेसरहरूद्वारा कक्षा सञ्चालन पनि गर्ने गरिएको छ ।
विद्यार्थीका समग्र पक्षहरू जस्तै सामाजिक, शारीरिक, सांस्कृतिक, मनोवैज्ञानिक, सम्वेगात्मक तथा मानव स्वास्थ्य लगायतका सर्वाङ्गीण पक्षहरूको सन्तुलित विकासका लागि नियमित अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दछौँ । त्यसरी सञ्चालन हुने कार्यक्रमहरूमा भलिबल, फुटबल लगायतका खेलकुदहरू, ध्यान तथा मनोपरामर्श शिविरहरू, नियमित स्वास्थ्य परीक्षण, लोक सेवा तथा शिक्षा सेवा आयोगका तयारी कक्षाहरू, स्थलगत भ्रमण तथा शैक्षिक भ्रमणहरू, सामुदायिक तथा सामाजिक कार्यमा सहभागीता लगायत थुप्रै कार्यक्रमहरू रहेका छन् ।
हाम्रो क्याम्पसमा यस क्याम्पसबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि रोजगारी उपलब्ध गराउन सहजिकरण गर्ने उद्देश्य अनुसार एउटा रोजगार प्रबद्र्धन उप–समिति समेत रहेको छ । यसले विद्यार्थीहरूलाई रोजगारी सम्बन्धी परामर्श दिनुका साथै स्थानीय बैँक तथा बित्तीय संस्था, उद्योग कलकारखाना लगायतका क्षेत्रहरूसँग समन्वय गरी रोजगारी उपलब्ध गराउने कार्य समेत गर्दछ । यसरी समग्रमा भन्नुपर्दा गुणस्तरीय शिक्षा एउटा बृहत प्याकेज हो र उर्लाबारी बहुमुखी क्याम्पस त्यस मानेमा सर्बप्रथम आपूm स्पष्ट छ र प्रतिबद्ध पनि छ ।
यो क्युएए अर्थात गुणस्तर प्रत्यायन सुनिश्चितता भनेको के हो ? र उर्लाबारी बहुमुखी क्याम्पस यो क्युएए प्रक्रियामा के गर्दैछ ?
— अँ, वास्तवमा म यो बुँदामा आउनै लागेको थिएँ । यो गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए) भनेको कुनै पनि उच्च शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने शैक्षिक गुणस्तरको प्रमाण–पत्र हो । यो वास्तवमा विश्वविद्यालयहरूका अतिरिक्त क्याम्पस, कलेजहरूबाट प्रदान गरिने औपचारिक शिक्षाको गुणस्तरको मानक हो । यसो भनौ यो प्रमाण–पत्र भएन भने अब क्याम्पसहरू चल्दैनन् र योसँग जोडिएको झन महत्वपूर्ण पक्ष के हो भने यो निकै नै चुनौतीपूर्ण र कठिन प्रक्रिया पार गरेर मात्र प्राप्त गर्न सकिन्छ ।
यस्तो महत्वपूर्ण प्रमाण–पत्र प्राप्त गर्न हामीले अहोरात्र काम गरिरहेका छौँ । हाम्रो क्याम्पसलाई क्युएए प्रमाणिकरण गराउने कार्यमा हाल हाम्रो आशय–पत्रलाई विश्वविद्यालय अनुदान आयोगले नविकरण गरिसके पश्चात गत असारमा हाम्रो स्व–अध्ययन प्रतिवेदन पनि स्वीकृत भइसकेको अवस्था छ । त्यसै गरी अबको प्रक्रिया भनेको विश्वविद्यालय अनुदान आयोगबाट आयोगका विज्ञ सम्मिलित अनुगमन टोली उर्लाबारी बहुमुखी क्याम्पसको अनुगमनमा आउने प्रक्रियामा रहेको छ ।
यस क्याम्पसमा निकै टाढा टाढाबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दा रहेछन् । यो कुराको व्यवस्थापन कसरी गर्ने गर्नुभएको छ ?
— हो, वास्तवमा हाम्रो क्याम्पसमा २५÷३० किलोमिटर टाढाबाट समेत विद्यार्थीहरू दैनिक आउने जाने गरेका छन् । त्यसका लागि क्याम्पसले विद्यार्थीहरूको सहजताका लागि यातायातको समेत व्यवस्था गरेको छ । हाल छ ओटा स्कुल बसहरू सन्चालनमा छन् । त्यसै गरी चाँडै नै अर्थात् अबको एक–दुई हप्ता मै थप एउटा स्कुल बस आउँदै छ ।
क्याम्पसका समस्या कस्ता छन् र समाधान गर्ने उपाय के के हुन सक्छन् होला ?
— क्याम्पसमा आन्तरिक तथा व्यवस्थापकीय समस्याहरू न्युन छन् । क्याम्पसको मुख्य चुनौती भनेको यसलाई समय सापेक्ष परिमार्जन गर्नु नै हो । खास गरी पछिल्लो समयमा विद्यार्थीहरूको चाख प्राबिधिक धारका विषयतर्पm बढ्दै गइरहेको छ । त्यसैले हामीले पनि विद्यार्थीका चाहना अनुरूप उच्च शिक्षामा विज्ञान लगायतका प्राबिधिक धारका बिषयहरू थप गर्नुपर्ने छ ।
क्याम्पसको साख बचाउन क–कसको दायित्व के के हुनुपर्छ जस्तो लाग्छ ?
–सञ्चालक समितिको आवश्यकता अनुसार नीति नियम निर्माण गरी कार्यान्वयनका निम्ति निर्देशन, कार्य सम्पादन मुल्यांकन गरी पृष्ठपोषण गर्ने दायित्व रहेको हुन्छ । जुन काममा वर्तमान सञ्चालक समितिले एक इन्च पनि कम हुन नदिइ अध्यक्ष लगायतको सम्पूर्ण टिम लागिरहेको छ । हरेक कार्य सम्पादनका निम्ति सञ्चालक समितिका प्रतिनिधि, प्राध्यापक प्रतिनिधि र विद्यार्थी प्रतिनिधि सहितको उप समितिहरु निर्माण भएका छन ्। उपसमितिले प्रक्रिया पुर्याइ कार्य सम्पादन गर्ने र अनुगमन समितिले अनुगमन गरिसके पछि भुक्तानी गर्ने परिपाटी रहेकाले सबैको आ– आफ्नो भूमिका रहेको छ । तर मुख्य भूमिका भने क्याम्पस प्रमुखको नै हुनेछ ।
विद्यार्थी घट्नुमा रोजगारीका लागि विदेशिने क्रम बढेको चर्चा छ, यसलाई रोक्न के गर्नुपर्छ होला ?
– क्याम्पसमा विषयगत रूपमा अध्ययन अध्यापन गराइसकेपछि राज्यको महत्वपूर्ण भूमिका हुनुपर्छ । राज्यमा नै रोजगारी, उद्यमशील वा ब्यवसायी बन्ने सुनिश्चितता गरिनुपर्छ । जसले गर्दा नेपालमै अध्ययन गर्ने, विद्यार्थीको संख्यामा वृद्धि हुन्छ । यसले गर्दा उर्लावारी क्याम्पस जस्ता सामुदायिक क्याम्पसहरुको वृत्ति विकासमा सहज हुनुका साथै युवा जनशक्ति विदेश पलायन नभई देश विकासमा लाग्न सक्छन् ।
क्याम्पस गाभेर चलाउन सकिंदैन ?
— हिजोका दिनमा स्कूल स्वीकृति दिने सम्वन्धमा पनि दूरी निर्धारण गर्ने गरिन्थ्यो । तर हालको परिप्रेक्ष्यमा उच्च शिक्षा सञ्चालन गर्न तथा विषय थप गर्न कुनै कुराको बन्देज छैन । एकै स्थानमा दुई वा सोभन्दा बढी सामुदायिक तथा निजी क्याम्पसलाई स्वीकृति दिएको पाइन्छ । त्यसो नगरी दूरी र विषयलाई मध्य नजर गरेर स्वीकृति दिए प्रयाप्त हुन्छ । यसका लागि सरोकारवालाहरुले अध्ययन गर्न जरुरी छ ।
सामुदायिक क्याम्पसहरुलाई कुन सरकारले सहयोग तथा अनुगमन गर्नु उचित हुन्छ होला ?
– क्याम्पसहरुको काम र आवश्यकताका आधारमा तीन वटै सरकारको सहयोग हुनुपर्छ । तर यस्ता विषयमा स्थानीय सरकार नै जिम्मेवार भएर लाग्नुपर्छ ।
अन्त्यमा केही भन्नु छ कि ?
— मैले भन्नै पर्ने विषय भनेको उर्लाबारी बहुमुखी क्याम्पस यो क्षेत्रमा बसोबास गर्ने सबै तह र तप्काका सम्पूर्ण जनताको साझा सम्पत्ति हो । यो क्याम्पस यस क्षेत्रको विकासको पनि मेरुदण्ड हो । त्यसैले यसको विकास र उत्थानमा हामी सबैको अहम भूमिका रहनु पर्दछ ।
राष्ट्रिय समाचार पत्र दैनिकबाट