आफ्नो मुलुकमाथि बाह्य सैन्य शक्तिबाट खतरा भएको खण्डमा सुरक्षा सहयोग गर्न रुस सहमत भएको बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले बताएका छन्।

उनले छिमेकी राष्ट्रहरूमा भइरहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको सैन्य अभ्यासबारे पनि चिन्ता व्यक्त गरेका छन्।

अगस्ट महिनाको ९ तारिखमा भएको निर्वाचनलाई लिए राष्ट्रपति लुकाशेन्का विरुद्ध प्रदर्शन भइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो।

आफ्ना प्रदर्शन पूर्ण रूपमा प्रसारण गर्न माग गर्दै शनिवार सरकारी टेलिभिजन च्यानल अगाडि हजारौँ प्रदर्शनकारीहरू जम्मा भएका थिए।

गत हप्ता भएको निर्वाचनमा ठूलो अन्तरका साथ लुकाशेन्काले जित हात पारेसँगै त्यहाँको अवस्था बिग्रिएको हो।

उक्त चुनावी नतिजामा धाँधली भएको आक्षेप व्याप्त छ।

सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले ८०.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन सम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ।

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १०.१२ प्रतिशत मात्रै मत प्राप्त गरेकी छन्।

तर उनले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरेकी छन्।

राजनीतिक अवस्था

प्रदर्शनका क्रम जारी रहेका बेला लुकाशेन्काले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका थिए।

उनका अनुसार बेलारुसमा बाह्य सैन्य खतराको अवस्थामा उनकै शब्दमा व्यापक सहयोग गर्ने वचन पुटिनले दिएका छन्।

युरोपेली सङ्घका विदेश मन्त्रीहरूले “धाँधली”का लागि जिम्मेवार अधिकारीहरूमाथि थप प्रतिबन्ध लगाउन सहमत भएको भोलिपल्ट पछिल्लो भनाइ सार्वजनिक भएको हो।

अमेरिकाले पनि निर्वाचन “स्वतन्त्र अनि निष्पक्ष नरहेको” भन्दै त्यसको निन्दा गरेको छ।

“युरोपका अन्तिम तानाशाह”

कतिपय प्रदर्शनकारीहरूले लुकाशेन्कालाई “युरोपका अन्तिम तानाशाह” भनिरहेका छन्।

सन् २०१५ मा भएको पछिल्लो चुनावमा उनले ८३.५ प्रतिशत मतले जितेको घोषणा गरेका थिए।

तर मतदाता र मतगणनामा गम्भीर चुनौती दिने कोही पनि पर्यवेक्षकहरू त्यहाँ थिएनन्।

अहिले नेतृत्वप्रति बढ्दो निराशाबीच चुनाव भएको छ।

त्यहाँको राजधानीमा गत महिना दशकयताकै विपक्षीहरूको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो।

मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ।

विविसिवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय