
-एसपी उप्रेती
हरेक मानिसको दौड जीवनका मुलभूत तीन वटा कुराहरु हासिल गर्न हुने गर्छन् । धन सम्पत्ति, स्वास्थ्य र खुशी यी तीन वटा अवस्थाहरु प्राप्त गर्न मानिसले आफ्नो संघर्षको दायरा बढाएको हुन्छ ।
एक जना वुद्धिष्ट भिक्षु जो ४० वर्ष नेपालमा रहेर अध्ययन अनुसन्धान एवम् ध्यान गरे उनी हुन् माथेउ रिकार्ड । जसलाई सन् २००८ मा संसारका सबैभन्दा खुशी व्यक्तिका रुपमा समेत विश्लेषण गरियो । यद्यपि खुशीका मापदण्डहरुका बारेमा प्रश्न भने उठेका छन् ।
तर पनि आफू शान्त रहनु, मन स्थिर हुनु, एकाग्रता क्षमता राम्रो रहनु, पारिवारिक र सामाजिक सम्बन्ध सुमधुर हुनु, आफ्नो कर्म र परिणाममा सन्तुष्ट आदि खुशी भएका अवस्थाहरु हुन् ।
रिकार्डका अनुसार खुशी कुनै बनिबनावट कुरा होइन बलकी यो मानिसको स्वभाव एवम् बानीले आर्जन गर्ने अवस्था हो । उनले खुशीलाई बानीको रुपमा चित्रण गरेका छन् । प्रत्येक पल हामी जे जे गर्छौँ तिनीहरुले नै खुशी हुने कि दुःखी हुने निर्धारण हुने उनको तर्क छ ।
त्यस्तै, मनोविज्ञानका विभिन्न सिद्धान्तहरुलाई हेर्ने हो भने पनि मानिसको जीवनमा उसको आफ्नै स्वभाव र बानीले अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । चाहे त्यो खुशी आर्जनमा होस् वा श्रीसम्पत्ति वा सफलता उपार्जनमा किन नहोस् ।
अझ केही पनि विषयमा निर्णय लिएर कर्म गरिनहाल्ने बानी छ भने त आजै हटाइहाल्नुस् । त्यो बानी खुशी प्राप्त गर्ने कुरामा मात्रै नभएर जीवनको उन्नति प्रगतीका लागि पनि बाधा हुने गर्दछ ।
मानिसको सोचाईको ढाँचा एवम् बानीको मोडललाई परिवर्तन गरेर आफ्नो इच्छित परिणाम हासिल हुने तथ्य मनोविज्ञानमा पाउन सकिन्छ । त्यति मात्र होइन मानसिक रुपमा केही समस्या भएकाहरुले समेत त्यस्ता विधिहरु अपनाएर आफूलाई सामान्य जीवनयापन गर्न सक्ने बनाउन सक्षम हुने गर्दछन् ।
आज यहाँ आफ्नै अनुभव, विभिन्न अनुसन्धान एवम् अध्ययनका निष्कर्षलाई मध्यनजर गर्दै त्यस्ता केही बानीहरुको चर्चा गरिँदैछ । जसले तपाईँको खुशी हुने आधार तय गर्न सक्छ ।
निर्णय लिने र कर्म गर्ने
हरेक मानिसको निर्णय लिने क्षमता, स्वभाव र बानी फरक हुने गर्दछ । कोही तुरुन्तै आफ्नो निर्णय आफैँ लिन सक्छन् त कसैलाई केही समय लाग्छ भने कोहीले अन्य कसैको सहयोग लिएर निर्णय लिने गर्दछन् । यहाँ निर्णय जीवनका आमूल परिवर्तन ल्याउने ठूला विषयमा मात्रै नभएर सानासाना दैनिक जीवनका घटनाहरुमा लिइने निर्णयलाई पनि केन्द्रीत गरिएको हो ।
यदि तपाईँको निर्णय लिन आलटाल गर्ने बानी छ भने त्यसले तपाईँलाई दुःखी तुल्याउँछ । अझ केही पनि विषयमा निर्णय लिएर कर्म गरिनहाल्ने बानी छ भने त आजै हटाइहाल्नुस् । त्यो बानी खुशी प्राप्त गर्ने कुरामा मात्रै नभएर जीवनको उन्नति प्रगतीका लागि पनि बाधा हुने गर्दछ ।
साधारणतया कसैले के तरकारी खाने भन्ने निर्णय लियो भने उसलाई खाना बनाउनमा खुशी मिल्छ, खाना मिठो पनि बन्छ तर दुविधात्मक बन्यो भने पहिलो कुरा समय कटेर जान्छ, दोस्रो खानामा मिठो कल्पना नहुन सक्छ, तेस्रो खाना बनाउनै मन नलाग्न सक्छ । यसले खुशी त बनाउदैन नै यो पनि सम्भव छ कि भोकै राखोस् । तसर्थ कुनै पनि सानो वा ठूलो कुरामा निर्णय लिएपछि तुरुन्तै कर्म गर्ने बानी बसाल्नुले खुशी मिल्छ अन्यथा दुःख महसुस हुनेछ ।
कुनै पनि निर्णयले कर्म गर्न प्रेरित गर्दछ । र कर्मले जीवनका सबै कुरा बदल्छ । त्यसैले, आवश्यक निर्णय लिइहाल्नुस् अनि त्यो निर्णयलाई कार्यान्वयन गरेर हेर्नुस् । त्यसपछि विचार गर्नुस् कि तपाईँलाई कस्तो महसुस हुन्छ ।
जानेर कसैलाई नराम्रो बनाउने वा होच्याउने कार्य नगर्नुस् । त्यस्तै, अन्जानमा आफूबाट भएको गल्ती प्रति क्षमा याचना गर्नुस् । अरुबाट अन्जानमा भएको कमजोरीलाई माफ गर्नुस् ।
अरुसँगको सम्बन्धलाई सुमधर बनाउनुस्
कतिपय मानिसहरु आफूबाहेक अन्यको बारेमा सोच्न चाहदैनन् र सोच्दैनन् पनि । यो स्वभावले अरुसँगको सम्बन्ध कमजोर बनाउँछ । जसले गर्दा व्यक्ति स्वयम एक्लो हुने अनि दुःखी हुने सम्भावना रहन्छ ।
तर मानिस एक्लै बस्ने प्राणी होइन । सबै अवस्था अरुसँग रहनुपर्ने हुन्छ । तसर्थ आफ्ना पारिवारिक सदस्यहरु, मित्रहरु, आफूभन्दा अग्रज वा समकक्षी वा अन्य कोहीसँग आफ्नो सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नुस् ।
यसका लागि आफ्ना प्रभावकारी सञ्चारको माध्यम प्रयोग गर्नुस् । बोल्दा शब्द छनोट गर्नुस् । आफ्नो शब्दले अनावश्यक रुपमा कसैलाई चोट पुर्याउने कुरामा अलिक सचेत हुनुस् ।
जानेर कसैलाई नराम्रो बनाउने वा होच्याउने कार्य नगर्नुस् । त्यस्तै, अन्जानमा आफूबाट भएको गल्ती प्रति क्षमा याचना गर्नुस् । अरुबाट अन्जानमा भएको कमजोरीलाई माफ गर्नुस् । यी सामान्य कुराहरुमा सजगता अपनाइयो भने कम्तीमा आफ्नो कारणले अरुको मन दुख्दैन जसले आफूलाई पनि कुनै किसिमको पश्चाप वा दुःख महसुस हुन्न ।
अरुको ख्याल राख्नुस्
मान्छेले आफ्नै ख्याल राख्छ । यो सामान्य हो । तर समाजमा बसिसकेपछि आफ्नो मात्रै ख्याल गर्नु चाँहि उति बुद्धिमानी नहुन सक्छ । किनकी मानिसहरुले तपाईँबाट केही अपेक्षा गरेको हुनसक्छ । त्यस्तो अवस्थामा आफूले सकेको जति उनीहरुका अपेक्षा पूरा गरिदिने प्रयास गर्नुस् । सक्नुहुन्न झुटो आश्वासन नदिनुस् । बरु किन सकिँदैन सही तवरले स्पष्ट भन्नुस् । वास्तवमा अरुको ख्याल गर्ने स्वभाव निकै जिम्मेवार स्वभाव हो ।
अपेक्षा कम गर्नुस्
हामी सबै जना एक अर्काबाट एक किसिमका अपेक्षा राख्ने गर्छौँ । यो आफैँमा नराम्रो भने होइन । तर कहिलेकाहीँ केही नजिक भएका मानिसहरुबाट हामी अलिक धेरै नै अपेक्षा गर्न पुग्छौँ । ती अपेक्षा यस्ता पनि हुन सक्छन् पूरा हुन कठीन होस् । तब आफैँलाई दुःख हुने गर्दछ । त्यसैले, सामान्य किसिमका आवश्यक अपेक्षा गर्नुस् । जुन अरुले पूरा गर्न सकोस् वा आफैँ पूरा गर्न सकियोस् । त्यसले तपाईँलाई अन्ततः खुशी मिल्छ ।
अक्सर संसारमा चम्केका मानिसहरु लगभग सबैको एउटा महत्वपूर्ण साझा स्वभाव हुने गर्दछ । त्यो हो आफैँमाथिको भरोसा । यो निकै गजबको अस्त्र हो आफूलाई अघि बढाउनको निम्ति ।
आफैँमा भरोसा गर्नुस्
अक्सर संसारमा चम्केका मानिसहरु लगभग सबैको एउटा महत्वपूर्ण साझा स्वभाव हुने गर्दछ । त्यो हो आफैँमाथिको भरोसा । यो निकै गजबको अस्त्र हो आफूलाई अघि बढाउनको निम्ति । साथै खुशी प्राप्त गर्ने मामलामा पनि खुशी साथ जीवन बाँच्न योग्य मान्छे हुँ भन्ने भावना जाग्नु जरुरी हुने गर्दछ ।
आफैँमा भरोसा नहुने मानिसहरुको जीवनमा उति उत्प्रेरित खालको हुँदैन । आफैँमा भरोसा हुँदैन भने हामी डराएर बाँच्ने गर्छौँ । जसले अनेकन अड्चनहरु सिर्जना गर्दछ । तसर्थ आत्मविश्वासका साथ आफ्नो क्षमता, दक्षता तथा सीपमा भरोसा गर्नु आवश्यक छ ।
आफैमाथि भरोसा कसरी गर्ने भन्ने प्रश्न हो भने चाँहि हामीले आफूले वर्तमानसम्म आइपुग्दा पार लगाएका संघर्षका गाथालाई सम्झन सक्छौँ । त्यस्तै, हिजो र आजको आफ्नो क्षमतामा आएको फरकपनलाई महसुस गर्न सक्छौँ । जसले के देखाउँछ भने पक्कै पनि हामी हिजो भन्दा आज उन्नत बनेका छौँ ।
वर्तमानमा हामी विगतभन्दा विकसित भएरै आएका छौँ । यसको कारण भनेको आफूले गरेको मेहनत एवम् क्षमताले हो । तसर्थ आफूलाई विश्वास गर्नुपर्ने अनिगिन्ती कारणहरु प्राप्त हुन सक्छन् ।