उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचन सरेको सरै छ । सहमतिमा समिति चयन गर्ने भन्दै तीन पटक निर्वाचनको मिति सारिसकिएको छ ।
गत कार्तिक १५ गते क्याम्पसको २१ औं चुनावी क्याम्पस सभा तथा ३४ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन औपचारिक कार्यक्रम गरी निर्वाचन कार्यक्रम कार्तिक २१ गते प्रकाशन गर्ने जानकारी गराइयो । कार्तिक २१ मा निर्वाचन कार्यक्रम प्रकाशन गरिएपनि राजनीतिक दलहरुको अधिवेशनको बहाना बनाउँदै पुस ३ गतेलाई सारियो ।
पुस ३ गते निर्वाचन हुने भनिएपनि निर्वाचनको पूर्वसन्ध्यामा आज निर्वाचन समितिले सूचना प्रकाशित गरी पुनः कार्यतालिका संशोधन गरेको छ । आज बसेको सर्वदलीय बैठकले मिति सार्न माग गरे अनुसार कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिले जनाएको छ । अब पुस ९ गते बिहान ८ बजेदेखि निर्वाचन हुने गरी मिति तय गरिएको छ । जसका लागि पुस ५ गते बिहान ९ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट १३ सदस्य निर्वाचित हुने छन् । निर्वाचित मध्येबाट अध्यक्ष र उपाध्यक्ष चयन हुने व्यवस्था छ । १३ सदस्यका लागि ३४ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । समिति सर्वसम्मत चयन गर्न राजनीतिक दलहरुको पटक पटकको सहमतिको प्रयास सफल हुन सकेको छैन । जसले गर्दा निर्वाचनको मिति सरिरहेको छ । पटक पटक निर्वाचन सरेपछि कतिपय उम्मेद्वारहरुले निर्वाचन समिति नै बेकामे रहेको टिप्पणी गर्न थालेका छन् । निर्वाचन गर्न नसक्ने अनि निर्वाचन समितिमा किन बसेको भन्दै आक्रोश पनि पोखेका छन् ।
ADVERTISEMENT