उर्लाबारी । सी डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको चर्च व्वाइज युनाइटेड फुटबल क्लब ए डिभिजनमा पुग्ने लक्ष्यमा रहेको छ ।
शुक्रबार उर्लाबारी–५ स्थित क्लबको कार्यालयमा एक कार्यक्रम गरी सी डिभिजन लिगका बिजेता खेलाडीहरुलाई सम्मान कार्यक्रम गर्दै क्लबका अध्यक्ष रुवेन राईले ए डिभिजनमा पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको बताउनु भएको हो । अध्यक्ष राईले खेलाडी, अफिसियल, पदाधिकारीको अथक प्रयासका कारण यो उपलब्धि हासिल गरेको बताउँदै यसलाई टिकाउँदै अझ सफलताको शिखर चुम्न क्लबले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । बी डिभिजनमा बढुवा भएसँगै सहयोगीहरु पनि प्राप्त भएको बताउँदै उहाँले झापा झिलझिलेको कन्काई स्पोर्ट हाउससँग जर्सीलगायत खेलकुद सामग्रीका लागि एक वर्षको सम्झौता भएको जानकारी दिनुभयो । सो अवसरमा प्रमुख अतिथि मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालले क्लब र खेलाडीको अझ प्रगतिको शुभकामना दिनुभयो । चर्च व्वाइज क्लबलाई आफूले नजिकबाट जाने बुझेकोले आफूले सक्ने सहयोग गर्न तत्पर रहेको उहाँको भनाई छ । पूर्वमा चर्च ब्वाइजको छुट्टै छाप छोड्न सफल भएकाले चाँडै ए डिभिजन क्लबको रुपमा स्थापित हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा क्लबका अध्यक्ष राई र जिल्ला फुटबल संघका अध्यक्ष धिमालले खेलाडीलाई प्रमाणपत्र तथा खदाले सम्मान गर्नुभयो । कार्यक्रममा फुटबल प्रशिक्षक सञ्जीव बुढाथोकी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, सञ्चार क्लबका पूर्व अध्यक्ष सरोज बस्नेत, ए डिभिजन फुटबल खेलाडी निरज बस्नेतलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन सञ्चार क्लबका पूर्वअध्यक्ष घनश्याम भण्डारीले गर्नुभएको थियो ।
ADVERTISEMENT