उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको यही भदौ २७ गते निर्वाचन हुँदैछ । प्रजातान्त्रिक समूहको पकडमा रहेको यस संघको निर्वाचन नजिकिँदै जाँदा चुनाबी सरगर्मी पनि बढ्न थालेको छ । प्रजातान्त्रिक समूहले यस पटक युवा ब्यवसायी तारामान सेरेङलाई अध्यक्षको उम्मेद्वार बनाएको छ । ४० बर्षीय सेरेङले संघको सदस्य, महासचिब हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । २०६१ सालदेखि संघमा आबद्ध भई ब्यापारीहरुको हकहितमा लागि पर्नुभएको सेरेङ उर्लाबारी जेसीज अध्यक्ष, उर्लाबारी ब्याटमिन्टन क्लबको संस्थापक अध्यक्ष भई काम गरिसक्नु भएको छ भने राधिका माध्मिक विद्यालय उर्लाबारी–६ को सञ्चालक समितिको सदस्य हुनुहुन्छ । उर्लाबारीका उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझेका सेरेङको बिजयले उर्लाबारीको पर्यटन क्षेत्रको विकाससँगै ब्यावसायीहरुको हकहितका साथै कोरोनालगायतको समस्याबाट ग्रसित ब्यावसायीको पक्षमा काम गर्ने अपेक्षा गरिएको छ ।
उर्लाबारी क्षेत्रका व्यवसायीहरुका विभिन्न समस्याहरु रहेका छन् । खासगरी घर बहालमा एकरुपता छैन । घरधनीहरु स्वेच्छिक निर्णय गरिदिँदा व्यवसायीहरुलाई समस्यामा पर्दछन् । यत्रो महिनामा लकडाउन हुँदासमेत खासै व्यवसायीहरुका समस्या समाधान भएनन् । समग्र व्यवसायीहरुमा पर्ने विपद्मा थप जिम्मेवार र व्यवसायीक हितका लागि सेरेङले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । उर्लाबारी–मधुमल्ला सडकको बेहालका कारण उर्लाबारीको बजार क्रमशः घट्दो क्रममा रहेकाले स्थानीय, प्रदेश र संघीय सरकारलाई सशक्त तरिकाले जनदबाब सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाई छ । उर्लाबारीको बजार चलयमान बनाउन स्थानीय सरकारसँग समन्वय गरी रात्रीबजार, ब्यवस्थिति बधशाला, सब्जी बजारलगायतको उचित ब्यवस्थापन गर्न आफूले भूमिका निर्वाह गर्ने उहाँको प्रतिबद्धता छ । चुनाब ताका प्रतिबद्धता मात्र होइन उद्योगी तथा ब्यवसायीको हितमा आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेर देखाउने उहाँको योजना छ । संघलाई उर्लाबारीको विकाससँग हातेमालो गर्ने, उर्लाबारीको आर्थिक विकासमा टेवा पुर्याउने, व्यापारीहरुलाई कर लगायतका विषयमा प्रशिक्षण दिने, बिभिन्न प्रशिक्षण केन्द्र स्थापनामा जोड दिँदै स्वरोजगार जनशक्ति उत्पादन गर्ने, व्यापारी राहत कोष थप बृद्धि गदै लैजाने, चन्दा आतंकलाई नियन्त्रण गरि भयमुक्त व्यवसायीक सुरक्षाको प्रत्याभूतिलगायतका एजेण्डा सेरेङले सार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय