अहिले विश्व नै कोभिड १९ को महामारीले आक्रान्त छ । आम नागरिकहरु त्रासमा छन् । कोरोना भाईरस रोकथामको खोप पनि लगाइरहेको छ । यतिबेला दोस्रो चरणमा कोरोना प्रवेश गरिसकेको अवस्था छ । देशैभरी कोरोनाको त्रास सिर्जना गरेको छ । छिमेकी मुलुक भारतमा लाखांै कोरोनाबाट प्रभावित बनिरहेका छन् । भारतसँग सिमा जोडिएको मोरङको रतुमावाई पनि कोरोनाको जोखिम मानिन्छ । कोरोना रोकथामका लागि रतुवामाई नगरपालिकाले के कस्ता गतिबिधि गरिहेको छ त ? यसै विषयमा केन्द्रीत रहेर नगरप्रमुख रविन राईसँग गरेको कुराकानी । प्रस्तुत छ, त्यसको केही अंश ः
दोस्रोे चरणमा फैलिएको कोराना भाईरस रोकथाममा नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ?
–यो विषम परिस्थितिमा नगरबासीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सचेतनामूलक गतिबिधिहरु अघि बढाइरहेको अवस्था छ । दोस्रो चरणमा कोरोना भाइरस फेरि देखिन थालेको छ । त्यसकारण गम्भिरतापूर्वक सर्तकता र सचेतना अपनाउनु पर्छ भन्ने कुरामा नगरपालिकाले जोड दिएको छ । विशेष गरी हाम्रो सिमा क्षेत्रमा गम्भिरतापूर्वक निगरानी गर्ने र त्यहाँको आवत जावतमा बढी सर्तकता अपनाउनुपर्ने देखिन्छ । र, त्यही अनुसार हामी अघि बढिरहेका छौं ।
नगरबासीलाई जोगाउन कसरी निगरानी बढाउनु हुन्छ त ?
–सिमाको पारीपट्टीबाट यता नेपालतर्फ आउने सवारी साधनहरुलाई जोखिमको हिसाबले बन्देज लगाउने र अर्को तर्फ अहिले विशेष गरेर यो रोग बालबालिकामा बढी प्रभाव परेको देखिन्छ । त्यस कारणले पनि लगभग एक हप्तासम्मको लागि सवै शिक्षण संस्थाहरु बन्द गर्ने भन्ने निर्णय गरेका छौं । सँगसँगै सार्वजनिकरुपमा बाहिरी बजार, हाट, घुमफिर सबै ठाउँहरुमा अनिवार्य रुपमा स्वास्थ्य, सुरक्षाको पूर्णरुपले सर्तकता अपनाउने कुरामा जोड रहन्छ । त्यसको निम्ति मास्कको प्रयोग गर्ने÷गराउने कार्यमा लागि गर्ने छौं ।
नगरपालिकाले गरेका निर्णयलाई कार्यान्वयन गर्न कसरी अघि बढ्नु हुन्छ ?
–यसबारे धेरै कुराहरु नगरबासीहरुले पनि बुझिसक्नु भएको छ । गत बर्ष चैत्रदेखि नेपाल सरकारले लकडाउन घोषणा गरिसकेपछि हामीले पनि त्यही अनुसार त्यसलाई निरन्तरता दियौं । त्यो अवधीमा पनि आम जनसमुदाय एवं नगरबासीले त्यसलाई इमान्दारिताका साथ पालना गरेर हामीलाई साथ दिनुभएको थियो । र, त्यही कारणले गर्दा पनि हाम्रो नगर क्षेत्रमा न्यून मात्रामा कोरोना संक्रमित विरामीहरु सकुशल निको भएर घर फर्कननु भयो । यस पटक पनि अझ भयानक फैलिरहेको यो रोग विशेषगरी छिमेकी राष्ट्र भारतमा विकरालरुपमा फैलिएको छ । जसका कारण लाखांै संक्रमित हुने परिस्थिति निर्माण भएको छ । मलाई लाग्छ यो परिस्थितिको आउन नदिन नगरबासीको साथ र सहयोग रहन्छ । यो भयानक कोभिड १९ बाट हामी बाँच्न सक्यौ भने निश्चित रुपमा भोली केही गर्न सक्छांै । र, यो अत्यन्तै भयानक तथा गम्भिररुपको सरुवा रोग हो । त्यसैले स्वास्थ्य सावधानी अपनाउनै पर्छ । त्यसैले आम नगरबासीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर आफ्नो काम कारवाही गर्नु हुन फेरि पनि सम्पूर्ण नगरबासीहरुमा अपिल गर्दछु ।
होटल ब्यवसायहरुको हकमा कस्तो निर्णय भयो ?
–होटल ब्यवसायीहरुले निश्चित समय अवधिसम्म होटल खोल्न र बन्द गर्न समयसीमा तोकेका छौं । ग्राहकको भिडभाड नगर्न÷नगराउन, सामाजिक दुरी कायम गराएर सबैलाई अनिवार्य रुपमा मास्कको प्रयोग गराउन, व्यवस्थित रुपमा खानपिनको ब्यवस्थापन गर्न÷गराउन, अबेरसम्म होटल तथा पसल नखोल्ने अपिल गरेका छौं ।
अहिले कोरोना संक्रमतितहरुलाई कस्तो ब्यवस्था गर्नु भएको छ ?
–अहिले हाम्रो नगर अस्पताल झुर्कियामा छ । र, सँगसँगै अस्थायी कोभिड अस्पताल पनि छ । हामीले त्यसलाई अझै थप वेड र अक्सिजनको विस्तार गर्ने भएका छौं । अहिले थप अक्सिजनहरु पनि राखेका छांै । अस्पतालभित्र थप जनशक्तिको पनि विस्तार गर्ने र अस्पताललाई आवश्यक व्यवस्थित विस्तार गर्ने कुराहरु पनि निर्णय गरेका छौं । हामीले सिजुवा र इटहरामा रहेका दुई वटा बुथ सेन्टर पनि थप ब्यवस्थित गर्ने भन्ने कुरामा निर्णय भएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
–यो मानव सभ्यता माथिकै ठूलो संकट एबं चुनौतिकै रुपमा यो कोरोना भाइरस आएको छ । त्यसैले हामी सबै सचेत र सजग हुनु पर्ने अवस्था आएको छ । विषेश गरी हाम्रा बालबालिकाहरुलाई जोगाउनु पर्नेछ । त्यसैले सबै क्षेत्र र पक्षबाट आम नगरबासीहरुले स्वास्थ्य सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।
ADVERTISEMENT