काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ ।
काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् ।
ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् ।
तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।
त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।