उर्लाबारी । मोरङको पूर्वोत्तर विकट पहाडी गाउँ मिक्लाजुङ गाउँपालिका १ स्थित बर्खेमा गत मंसिर २३ गते सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विभत्स तरिकाले हत्या भयो । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले सुराकीको अभियोगमा ५३ बर्षीय प्रधानाध्यापक श्रेष्ठको घरदेखि करिब १ किलोमिटर पश्चिम जंगलमा घाँटी रेटी विभत्स हत्या गरेका थिए ।
प्रधानाध्यापक श्रेष्ठको हत्या भएको तीन महिना पुगेको छ । प्रहरीले नेत्रबिक्रम चन्दसहित ३५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको थियो । सो घटनामा संलग्न भएको आरोपमा विप्लव समूहका डिबि सिलवाल भनिने धनबहादुर विश्वकर्मालाई पक्राउ गरी पुर्पक्ष थुनामा राखिएको छ । तर, शुक्रबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । जसमा दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने र नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ तथा सबै मुद्दा खारेज गर्न सहमत बनेको छ । यो सहमति सार्वजननिक भएसँगै प्रधानाध्यापक श्रेष्ठको परिवारलाई न्याय नपाउने हो की भन्ने चिन्ताले पिरोलेको छ । विना कसुर विभत्स तरिकाले हत्या गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन प्रधानाध्यापक श्रेष्ठकी श्रीमति धनकुमारी श्रेष्ठले माग गर्नुभएको छ । उहाँले सरकारले परिवारलाई क्षतिपूर्ति, दोषीलाई कडाभन्दा कडा कार्वाही तथा सहिद घोषणा गर्नु पर्ने उहाँको भनाई छ । श्रीमानको हत्या भएको तीन महिना हुँदासम्म आफुले न्याय नपाएको उहाँले गुनासो गर्नुभयो ।
कसरी भयो घटना
मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङ ‘विप्लब’ समूहको परेडस्थल थियो । मिक्लाजुङ पाँचथर, इलाम र धनकुटाको सिमानामा पर्ने सो क्षेत्रमा विप्लव समूहको सैन्य गितिविधि तीव्र भएको सूचनापछि प्रहरीले गत कात्तिक १२ गते सर्च अभियान चलाएर दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरुलाई पक्राउ गर्न सहयोग गरेको आरोप श्रेष्ठमाथि लगाइएको थियो । त्यसक्रममा ‘विप्लब’ समूहले कहिले चन्दा त खसी बाख्रा माग्ने गर्थे । गत असारमा श्रेष्ठसँग ‘विप्लव’ समूहले १० हजार चन्दा मागेका थिए । उहाँले ५ हजार मात्र रहेको बताएपछि सो रकम नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए ।
मंसिर पहिलो साता पनि बाहिरबाट सरहरु आउनुहुन्छ भन्दै विप्लब समूहले खसी मागेको थियो । तर, श्रेष्ठले खसी नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेका थिए । प्रधानाध्यापक श्रेष्ठको हत्या हुनु अघिल्लो दिन नै अपरिचित ब्यक्तिहरु घर आपपासका क्षेत्रमा घुमफिर गरिरहेका थिए । धनकुमारीले पनि अपरिचित समूहलाई सोही दिन बारीमा साग टिप्ने क्रममा घर नजिकै भेट्नुभएको थियो । तर, उहाँले अपरिचित समूहको आउजाउ भइरहने भएकाले खासै वास्ता गर्नुएन । भोली पल्ट विहानै धनकुमारी घरबाट काममा निस्किनुभयो । ४÷५ जनाको समूहमा आएका विप्लब समूहका कार्यकर्ताले सोधपुछका लागि भन्दै मंसिर २३ गते करिब विहान ७ बजे घरबाटै उठाएर लगे । सो समूहको आवतजावत भइरहने भएकोले सोधपुछ गरेर छोडिहाल्छन् भन्ने परिवार र स्थानीयको बुझाई थियो । तर, उनी नफर्किएपछि करिब ८ बजेतिर श्रेष्ठको परिवार र स्थानीय उहाँको खोजीमा निस्किएका थिए । करिब १ किलोमिटरको दुरीमा पुग्दा सो समूहले श्रेष्ठको विभत्स हत्या गरेको अवस्थामा शव भेटे । लौराले कुट्दै चरम यातना दिएर श्रेष्ठको घाँटी रेटी हत्या गरेको प्रष्ट देखिन्थ्यो । श्रेष्ठको घाँटीमा काटिएको दुईवटा गहिरो चोट थियो भने दुबै हात बाँधिएको अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थानभन्दा करिब ५० मिटरमाथि प्रधानाध्यापक श्रेष्ठको मोवाइल, टोपी र चप्पल भेटिएको थियो । त्यहाँ रगतको टाटासमेत भेटिएकोले अपहरणकारी समूहले श्रेष्ठलाई सोही स्थानमा यातना दिएको अनुमान गरिएको थियो ।
न न्याय न क्षतिपूर्ति
श्रेष्ठ परिवारले अझैसम्म पनि न्याय पाएको अनुभूति गर्न सकेको छैन । २५ बर्षदेखि शिक्षक पेशामा आबद्ध रहेका श्रीमानको विभत्स तरिकाले हत्या भएको ३ महिना भएको छ । न यो परिवारले न्याय नै पाएको छ, नत क्षतिपूर्ति । श्रीमानको हत्यामा संलग्न एक जना थुनामा छन् भन्ने बारेमा थाहा पाएपनि हालसम्म आफुहरुले न्याय पाएको आभाष हुन नसकेको दुखेसो श्रीमति धनकुमारी छ । सरकारले राहत तथा दोषीलाई हदैसम्मको कार्वाही गर्नु पर्ने उहाँले जोड छ । ‘दोषीलाई कारवाही भए मात्र मेरो श्रीमानको आत्मले शान्ति पाउँछ,’ उहाँले भाबुक हुँदै भन्नुभयो,’ ‘न्यायको लडाइको लागि अन्तिमसम्म लाग्छु ।’
बर्खेबाट श्रेष्ठ परिवार विस्थापित
विप्लब समूहले श्रीमान राजेन्द्रको हत्यापछि श्रेष्ठ परिवार मिक्लाजुङ–१ बाट विस्थापित बनेको छ । राजेन्द्रसँगै धनकुमारी बर्खेमा बस्दै आउनु भएको थियो । श्रीमानको हत्यापछि बर्खे छोडेर मिक्लाजुङ–२ रचनामा छोरासँगै बस्दै आउनु भएको छ । श्रीमानको हत्यापछि बर्खेमा बस्न नसकेर छोरासँगै बस्दै आएको धनकुमारीले बताउनुभयो । आफुहरु विस्थापित हुँदासमेत राज्यले कुनै साथ र सहयोग नगरेको गुनासो धनकुमारीको छ । निम्न अवस्थामा रहेको यो परिवारमा एक छोरा र छोरी छन् । छोराछोरी दुबैको विहे भइसकेको छ । अहिले धनकुमारी छोरा छत्र, बुहारी बिष्णु, नातिनीहरु शिखा, प्रमिसा र अनुशासँग बस्दै आउनु भएको छ । छोरी पूजा विहे गरेर घरजम गरिसक्नु भएको छ ।
दोषीलाई उन्मुक्ति नदिइयो
श्रीमान राजेन्द्रको विभत्स हत्या गर्नेहरुलाई शान्ति प्रक्रिया आएको बहानामा उन्मुक्ति दिन नहुने धनकुमारीको माग छ । बाख्रा नदिएको निँहुमा हत्या गरिएको हुन सक्छ, धनकुमारीले भन्नुभयो–‘दोषीलाई उन्मुक्ति दिने खेल सरकारबाट हुनु हुँदैन ।’ छोरा छत्रले पनि बुवाको हत्यारालाई छोड्न नहुने तर्क राख्नुहुन्छ । उहाँले दोषीलाई हदैसम्मको कार्वाही गर्नु पर्ने माग गर्नुभयो । उहाँले दोषीलाई छोडिए, त्यो सह्य नहुने बताउनुभयो । सरकारले कुनै बहानामा हत्यामा संलग्नलाई उन्मुक्ति दिए कडा आन्दोलनमा उत्र्ने परिवारले चेतावनी दिएको छ ।
बर्खेबासीका प्रिय राजेन्द्र सर
‘विप्लव’ समूहका कार्यकर्ताले बर्बरतापूर्वक ढंगले हत्या गरिएका श्रेष्ठ बर्खेबासीका लागि प्रिय थिए । शिक्षाका साथै विकास निर्माणलगायतका कार्यमा उहाँकै नेतृत्व हुने गर्दथ्यो । विगत २५ वर्षदेखि उहाँले सो विद्यालयमा पढाउँदै आउनु भएको थियो । प्रधानाध्यापक श्रेष्ठले सडक विस्तार, सामाजिकलगायत कार्यमा ठूलो देन रहेको स्थानीय बीरबहादुर राईले बताउनुभयो । उहाँले– ‘हामीले शिक्षासेवा तथा विकासप्रेमी अभिभावक गुमायौं ।’ २०४६ सालबाट शिक्षण पेसा सुरु गर्नुभएका उहाँ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य हुनुहुन्थ्यो ।
ADVERTISEMENT