
उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका– १० मा रहेको कृषि विकास बैंैंकको तीन तले भवन बेवारिसे बनेको छ ।
वडा नं. १० सोमबारेमा बैंकको भवन बेवारिसे बनेको हो । जनयुद्धको समयमा असुरक्षाको कारण देखाउँदै बैंक विस्थापित भएको थियो । बैंक बन्द भएपछि लाखौंको लगानीमा बनेको भवन बेवारिसे बनेको छ । बेवारिसे बनेको भवन यतिबेला बजार भर्न आउनेका लागि शौचालयको रुपमा परिणत भएको छ । बजार व्यवस्थापन समितिले ब्यापारीबाट कर उठाउने गरेको भएपनि सार्वजनिक शौचालय बनाउन चासो नदिएको कारण बैंकको भवनमै शौच गर्ने गरिएको छ । लाखौं भाडा तिरेर वडा कार्यालय सञ्चालन भइरहेको भएपनि सार्वजनिक सम्पत्ति बेवारिसे बन्नु चिन्ताको विषय बनेको स्थानीयको भनाई छ । रतुवामाई नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएपनि बैंकको भवन नै शौचालयमा परिणत हुनु लाजमर्दो विषय बनेको स्थानीय हरि नेपालले बताउनुभयो । यो त एउटा उदाहरण मात्र हो नगरभित्र यस्ता ठाउँ धेरै छन् । केही समय अगाडि करोडौंको शौचालय निर्माणको बिषयमा नगरप्रमुख रविन राई समेत बिवादमा तानिएका थिए ।