
उर्लाबारी । उर्लाबारी नगरपालिकामार्फत विनियोजित रकमको दुरुप्रयोग रोक्न मेयर खड्ग फागो लागि परेका छन् ।
तालिम र गोष्टीका नाममा बजेट ब्यापक दुरुप्रयोग हुन थालेपछि मेयर फागोले एक्सन लिएका हुन् । सिपमूलक र आयमूलक भन्दा पनि बर्षेनी तालिम र गोष्टीका नाममा रकम खर्च हुन थालेपछि मेयर फागोले सरोकारवालाहरुसँगै छलफल गरी अनावश्यक खर्च रोकेका छन् । जनताबाट संकलित करको पैसालाई कुनै पनि हालतमा दुरुप्रयोग हुन नदिने उहाँको भनाई छ । विगतमा भएका तालिम र गोष्टीबाट उपलब्धी हालिस हुन नसकेको उल्लेख गर्दै सिपमुलक र आयमूलक तालिममा ध्यान दिनु पर्ने उहाँको जोड छ । रोजगारी सिर्जना हुने र जीवन स्तर परिवर्तन हुने खालका कार्यक्रमहरुमा नगरपालिकाले जोड दिइरहेको उहाँले उल्लेख गर्नुभयो । ‘कोही रिसाउला कि भनेर बजेट दुरुप्रयोग गर्न दिन्न’ उहाँले भन्नुभयो–‘ नगरपालिकाको बजेटमा गरिएका तालिमहरुबाट उपलब्धी हुनु पर्छ ।’ मेयर फागोले आदीबासी जनजाती महासंघ उर्लाबारी नगर समितिका पदाधिकारीहरुसँग बजेट दुरुप्रयोग रोक्न छलफल गर्नुभएको छ । उहाँले आदिबासीको नाममा नगरपालिकाबाट विनियोजित १७ लाख रुपैयाँ बजेटले रोजगारी सिर्जना हुने र जीवन स्तर परिवर्तन हुने खालका कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो ।