
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन भएको विरोधमा आज देशभरि प्रदर्शन गर्दै छ ।
कांग्रेसले सबै वडाहरूमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले ६ हजार ७ सय ४३ वटा वडामा प्रदर्शन गर्न लागेको जनाएका छन् ।
वडाहरूमा हुन लागेको सरकार विरोधी कार्यक्रमका लागि नेताहरूलाई जिम्मेवारी दिएर पठाइसकेको जानकारी डा.महतले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएर प्रधितिधि सभा विघटन गरेको भन्दै कांग्रेसले आन्दोलन चलाउँदै आएको छ ।
ओलीको असंवैधानिक कदम भनेर विरोध गर्दै आएको कांग्रेसले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने पनि जनाउँदै आएको छ ।