
पुजन दास
उर्लाबारी । प्रदेश नं. १ को प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रबाद उदाङ्गो भएको बताएका छन् ।
मोरङको उर्लाबारीमा आज नेपाली कांग्रेसले गरेको संसद विघटन असंबैधानिक कदमको विरोधसभालाई सम्बोधन गर्दै सचेतक राईले प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद आम नेपाली जनताले अब बुझिसकेको बताएका हुन् । उनले नेपाली जनताको बलिदानबाट लेखिएको संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनतालाई धोका लिएको र त्यसका विरुद्धमा आन्दोलन गर्नु परेको उल्लेख गरे । कम्यूनिष्ट सरकार असफल भइसकेको बताउँदै नेपाली कांग्रेसबाट मात्रै परिवर्तन सम्भव रहेको उनले दाबी गरे । संसद विघटनमा प्रधामन्त्री ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, माधब नेपाल, झलनाथ खनालहरुको पनि उत्तिकै हात रहेको उनको भनाई छ ।
त्यस्तै, नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्यूनिष्टहरुले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । उनले जनतालाई भ्रममा पारेर सत्ता टिकाउने र गिराउन खेलमा नेकपाका नेताहरु लागेकै कारण संसद विघटन भएको उल्लेख गरे । संसद विघटन असंवैधानिक कदम भएको र त्यसका विरुद्धमा नेपाली कांग्रेस कटिबद्ध भएर संघर्षमा उत्रिएको उनले बताए ।
त्यस्तै, नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभा पालुङ्वाले प्रधानमन्त्री ओलीले जनतामाथी कुठराघात गरेको आरोप लगाइन् । जनताको मतको अपमान गर्दै ओलीले संविधानको बलात्कार गरेको उनले बताइन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारी नगर सभापति बीरबल थापाको सभापतित्व एबं शोभितमाया तामाङको सञ्चालनमा सम्पन्न भएको थियो । सभाअघि सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा बृहत ¥यालीले उर्लाबारी नगर परिक्रममा गरेको थियो ।