पुजन दास
उर्लाबारी । बैदेशिक रोजगारबाट फर्किएर मोरङको मिक्लाजुङ–६ का तीन जना दाजुभाईले पशुपालन थालेका छन् ।
३५ बर्षीय पदम बोहोरा, ३१ बर्षीय असिम बोहोरा र ३० बर्षीय निशान बोहोराले पशुपालन थालेका हुन् । विगत अढाई बर्षदेखि उनीहरुले भैंसी, पाठा, पाठी, बाख्रालगायत पालेका छन् । पदम साउदीअरब १ बर्ष ६ महिना, कतार ५ बर्ष, असिम कतार ४ बर्ष र निशान साउदी अरब ३ बर्ष रोजगारीको शिलशिलामा बिताए । अरुको देशमा कठोर श्रम गर्नुभन्दा आफ्नै देशमा केही गरौं भन्ने सोचका पशुपालन थालेको पदमले बताए । ३ माउ भैंसी, ११ पाठा, ५ पाठी, १ गाई, ४० वटा बाख्रा पालिएको उनले जानकारी दिए । ५ कट्ठामा गोठ बनाइएको छ भने अढाई विघामा घाँस लगाइएको छ । ज्ञानदिप कृषि फर्म दर्ता गरी करिब ४५ लाख रुपैयाँको लगानीमा पशुपालन थालेको असिमले बताए ।
स्वदेशमै गरिने उद्यम र कमाइ जीवनभरलाई हुन्छ भन्ने भनाइलाई आत्मसात गर्दै विदेशबाट फर्केर यी युवाले पशुपालन थालेका हुन् । तलब राम्रै भए पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर उनीहरु स्वदेश फर्किएका थिए । विदेशमा अर्काको काम गरेर बस्नुभन्दा आफ्नै ठाउँमा पशुपालन गर्दा रमाइलो अनुभूति भइरहेको निशानको भनाई छ । आफूहरुले गरेको काम उदाहरणीय बन्दै गएपछि अहिले गाउँका अन्य युवा पनि स्वदेश फर्केर कृषि गर्ने भन्दै धमाधम फर्म दर्ता गर्न थालेको उनले बताए । कृषिमा आधुनिकीकरण र प्रविधिको विकासले गर्दा सामूहिक व्यावसायिक कृषि प्रणालीतर्फ युवाको आकर्षण बढेको किसानको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय