उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १८ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु भएको १७ दिन बितेको छ ।
भण्डारीको परिवारले नेपाल कम्यूनिष्ट पार्टी(ओली समूह) का केन्द्रीय सदस्य युवराज बास्कोटाविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरी प्रशासनले पक्राउ गरी कार्वाहीको प्रक्रिया अघि बढाउन आलटाल गरेको आरोप लगाएका छन् । पौष १४ गते विहान नेता बास्कोटाको घरमा भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । मृतक सन्दिपकी आमा राधिका भण्डारीले नेता बास्कोटाबिरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जोहरी दिएकी छिन् । तर, प्रहरीले हालसम्म बास्कोटालाई पक्राउ गरी अनुसन्धान अघि नबढाएको पीडित परिवारको गुनासो छ । प्रहरी प्रशासनले न्याय दिने भन्दा पनि नेता बास्कोटालाई उन्मुक्ति दिन खोजेको आमा राधिकाको भनाई छ । ‘छोराको मृत्यु भएको १७ दिन बित्यो’ उनले भनिन्–‘छोराको स्वभाविक मृत्यु नभई नियोजित हत्या भएको देखिन्छ । तर, पनि प्रहरीले बास्कोटालाई पक्राउ गर्दैन ।’ नेता बास्कोटालाई उन्मुक्ति दिन इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिपकुमार गिरी लागि परेको पीडित परिवारले आरोप लगाएका छन् । दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दासमेत वेवास्था गरेको बुवा गोपाल भण्डारीले बताए । नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाए । उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ । बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए । घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए । आफूहरुले बास्कोटाविरुद्ध किटानी जाहेरी दिएको सन्दिपका दाजु दिवस भण्डारीले बताए । अहिलेसम्म वास्कोटा पक्राउ नपर्नुले पनि प्रहरीकै मिलोमतो हुन सक्ने उनले आशंका गरे । दोषी हो वा होइन अनुसन्धानबाट खुल्ने हो तर, खोई अहिलेसम्म बास्कोटा किन पक्राउ परेनन् दिवशले प्रश्न गरे । बास्कोटा खराब ब्यक्ति भएको र उनीसँग हिमचिम नगर्न भाईलाई पटक पटक भनेपनि नमानेका कारण यो घटना भएको उनको भनाई छ । यसविषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिपकुमार गिरीसँग बुझ्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
के आयो रिपोर्ट
प्रारम्भिक रिपोर्टमा भण्डारीको टाउकोको नसा फुटेको देखिएको छ । भण्डारीको टाउकोमा देब्रेपटिको भागबाट दिमाग (ब्रेन) मा जाने नशा फुलेर फुटेको अवस्था रहेको रिपोर्ट आएको छ । पोस्टमार्टमा खटिएका डाक्टरका अनुसार यो दुईवटा कारणले हुने बताइएको छ । टाउकोको नशा फाट्ने अवस्था अचानक हुने हाइपर टेन्सन र कुनै ओजनदार हतियारको प्रहारमा हुने २ वटा मुख्य कारण हुने गर्दछ । भिसेरा परिक्षणका लागि मृतकको परिक्षण नमुना नेपाल प्रहरीको फोरेन्सीक ल्याव पठाएको जनाइएको छ । हालसम्म त्यसको रिपोर्ट भने आएको छैन । हाम्रो मतबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय