
उर्लाबारी । हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष प्रभावित बनेको छ । हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो ।
मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्य तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष मेला नलागेको कारण यस पटक कम तीर्थयात्रीको उपस्थित रहेको छ । कोरोना भाइरस संक्रमणका कारण यस वर्षको मेला नलगाउने निर्णय गरिएको थियो । हाटबजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कसजस्ता मनोरञ्जनलगायतका कुनै पनि गतिविधि रोक लगाईएको थियो । नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरू मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संक्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गरेको थियो ।
शब्द÷तस्बीरः लक्ष्मीकुमार तामाङ