
उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले सडक छेउछाउमा निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।
उक्त संरचना हटाउन नगरपालिकाले पटक पटक सूचना जारी गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना हटाउन थालेको नगर प्रमुख खड्ग फागोले बताए । पूर्वपश्चिम राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन सुरू गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको थियो । बाटो छेकिने गरी राखिएका होडिङ बोर्ड समेत हटाइएको छ । यस्तै, उर्लाबारी वडा नं. ४ मा केशब सुवेदीले १ सय ४ मिटरभित्र निर्माण सुरु गरिएको भवन भत्काइएको छ । त्यस्तै, वडा नं. ३ मा अम्बिका खतिवडाले निर्माण गरेको भौतिक संरचनासमेत भत्काइदिएको छ । त्यस्तै, सडक आसपासका क्षेत्रमा ब्यापार गर्नेहरुको सामानसमेत नियन्त्रणमा लिई नगरपालिकामा राखिएको छ । मुख्य तथा भित्री सडकमा घर निर्माण सामाग्रीहरु राख्ने पाइएकाले त्यसमा पनि कडाई गरिएको छ ।