
उर्लाबारी । राप्रपा केन्द्रीय सम्पादन समितिका सदस्य एबं १ नम्बर प्रदेशका अध्यक्ष राम थापाले संघीयताका कारण देश खोक्रो भएको दाबी गरेका छन् ।
सोमबार मोरङको उर्लाबारीमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको ¥यालीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘संघीयताले देश खोक्रो भइसक्यो भन्नेमा अब दुईमत छैन’ उनले भने–‘अहिले सत्तासीन दलका नेताहरूले पनि यो महसुस गरिसकेका छन् ।’ राजसंस्थाको माग व्यक्ति र दलभन्दा माथिको भएको उनले बताए । एउटा राजा हटाएर अहिले ९ जना राजा बनेको उनले दाबी गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि राप्रपालगायत शक्तिहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै नेताहरुले जनतालाई झुक्याएर राजसंस्थालाई समाप्त पारिएको उनको भनाई छ । उनले जातको आधारमा नभई वर्गको आधारमा समानता आवश्यक रहेको उनले बताए । ‘अहिले हामीले भनेको चाहिँ जनता आऊ, राजा ल्याऊ हो’ उनले भने–‘कुनै कुनै व्यक्ति वा दल विशेषका लागि होइन । राष्ट्रियताका लागि हो । देश विदेशीको खेल मैदान नबनोस् भनेर हो । जनताको हितका लागि हो ।’
कार्यक्रममा राप्रपा मोरङ क्षेत्र नं. १ का अध्यक्ष जंगबहादुर कार्की, जिल्ला अध्यक्ष माधब आचार्यलगायतले बोल्दै देश भ्रष्टहरुका लागि बन्धक बनेको उल्लेख गर्दै राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना आजको आवश्यकता भएको बताएका छन् । कोणसभाअघि राधिका माध्यमिक विद्यालयको खेलमैदानबाट सुरु भएको ¥यालीले उर्लाबारी नगर परिक्रम गरेको थियो । कार्यक्रम संयोजक धर्मराज शाक्यको सभापतित्वमा भएको थियो ।