
उर्लाबारी । मोरङको उर्लाबारीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको अगुवा भेला गरिएको छ ।
आज उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को सभाहलमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको कडा रुपमा विरोध जनाएका छन् । भेलामा नेकपाका प्रदेश कमिटी सदस्य इन्द्र सुब्बा, पार्टीका उर्लाबारी नगर इन्चार्ज एवम् जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, नेकपा नगर कार्यालय सदस्य गजेन्द्र दंगाललगायतले देश र पार्टीको बर्तमान अवस्थामा विषयमा प्रष्ट पारेका थिए । पार्टीका प्रदेश सदस्य सुब्बाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा बिघटन असंबैधानिक रहेकाले संबिधानको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री ओलीको सन्की स्वभावले देश नै बन्धक बनेको भन्दै त्यसका विरुद्धमा पार्टीले थालेको चरणबद्ध आन्दोलनमा नेता तथा कार्यकर्ताहरु एकीकृत भएर लाग्नु पर्ने उनको भनाई छ ।
नेकपाका पूर्व सचिवालय सदस्य कृष्ण आचार्या, राष्ट्रिय युवा संघका मोरङ जिल्ला सदस्य दिपक आले मगर, नेकपा उर्लाबारी नर सचिब तोर्ण श्रेष्ठ, सदस्य मनोरथ भण्डारी, मिलन दाहाललगायत अगुवाहरुको उपस्थिति रहेको थियो । जनभावना विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसमा विरुद्ध कडा रुपमा युवाहरुले संघर्ष गर्ने चेतावनी दिएको छ । जिल्ला सदस्य दिपक आले मगरले प्रतिनिधिसभा पुनःस्र्थापनाको विकल्प नै नभएको बताए । सविधानले कल्पनै नगरेको अधिकार प्रयोग गर्ने छुट कसैलाई नरहेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतको पुर्ण इजलासले सदन पुनःस्र्थापना गर्नुपर्ने बताए । भेला युवा संघका नगर संयोजक राजिव लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । पहिलो चरणमा अगुवा युवाहरुमात्रै भेला गरिएको र आवश्यकताअनुसार शक्ति प्रदर्शन गरिने संयोजक लिम्बूको भनाई छ ।