गैँडाकोट । अपाङ्ग रहेका भीम बिकलाई कथित प्राङ्क (मजाक/शरारत) गर्ने बहानामा दुई जना युवतीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्दा कारबाहीको दायरामा आउने भएका छन् ।

अपाङ्ग रहेका बिकमाथि भद्दा मजाक गरेको भिडियो बनाएर ती दुई युवतीले ‘अनलाइन तुफान’ नामक युट्युबमा अपलोड गरेका छन् । भिडियो अपलोड हुनेवित्तिकै बिकमाथि भएको भद्दा मजाकको चौतर्फी विरोध भएको छ । विरोध भएपछि सो युट्युबले भिडियो हटाएको छ । तर, भिडियो कपी गरेर सामाजिक सञ्जालहरूमा अहिले पनि भाइरल बनेको छ ।

दुई जना युवतीले बिकलाई पहिला आफैले काखमा राखेर मजाक गरेका छन् । त्यसपछि बिक रोएका छन् । युवतीहरूले विभिन्न लाञ्छनाहरू बिकलाई लगाएर प्रहरीमा उजुरी दिनेदेखि विभिन्न खालका टर्चर गरेका छन् ।

अपाङ्ग बिकमाथि भद्दा मजाक गरेर भिडियो बनाइ युट्युबमा राख्ने दुई युवती र उनीहरूको टिमलाई साइबर क्राइमको अपराधमा सजायको माग समेत गरिएको छ । समाजसेवी एवम् अधिकारकर्मी रञ्जीता गुरुङले बिकलाई न्याय दिलाउन पहल गरेकी छिन् ।

काठमाडौंबाट नवलपरासी पूर्व पुगेर गुरुङले बिकलाई सोमबार ईलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिन लगाएकी छिन् । बिकको न्यायका लागि उनले प्रहरीलाई अनुरोध समेत गरेकी छिन् । प्रहरीले पनि बिकलाई न्याय दिने प्रतिवद्धता जनाउँदै दोषीहरूलाई कारबाहीको प्रतिवद्धता जनाएको समाजसेवी गुरुङले बताएकी छिन् ।

समाजसेवी गुरुङले बिकको न्यायका लागि आफूले साथ दिने प्रतिक्रिया दिएकी छिन् । ‘जन्मजात अपाङ्ग र बालापान रहेका भीम बिकमाथि भद्दा मजाक गरिएको छ’, गुरुङले भनेकी छिन्, ‘जसले गरेपनि त्यो राम्रो भएन । भद्दा मजाक गरेर भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने सबैलाई कानूनअनुसार कारबाही हुनुपर्छ ।’

प्रहरीले निवेदन लिएर भिडियो बनाउने समूहलाई मंगलबार छलफलका लागि बोलाएको छ । आवश्यक पर्‍यो भने भिडियोमा भद्दा मजाक गर्ने ती दुई युवती, भिडियो खिच्ने क्यामरा पर्सन र युट्युब सञ्चालकलाई प्रहरीले थुनामा राखेर कारबाही गर्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय