
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. १ मा आगलागी हुँदा जलेर घाइते भएका आमाछोरीको अरनिको हस्पिटलले निःशुल्क उपचार गरिदिने भएको छ ।
आइतबार हस्पिटलमा भर्ना गरी ३५ बर्षीया रिता साह र १ बर्षीया छोरी अनुशा साहको उपचार थालिएको अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष लोलिम पोमुले जानकारी दिए । सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतको समन्वयमा हस्पिटलले आमाछोरीको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था ज्यादै कमजोर भई उपचार नपाएको जानकारी पाउनासाथ अध्यक्ष पोमुले चासो लिँदै निःशुल्क उपचारको ब्यवस्था मिलाएका हुन् । आमाछोरीको उपचारको सम्पूर्ण जिम्मेवारी हस्पिटलले लिने अध्यक्ष पोमुले जानकारी दिए । केही दिन बेड भर्ना गरी उपचार गरिने डा. रञ्जन बर्णवालले बताए । आमाछोरी दुबैको हात, टाउको तथा शरिर आगोले जलेको उनको भनाई छ । यस्तै, साहको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएकाले स्थानीयबासीको सहयोगमा घर निर्माण गर्ने तयारी भइरहेको टोल विकास समितिका अध्यक्ष दिनेश फुयालले जानकारी दिए ।