उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह) का केन्द्रीय सदस्य युवराज बास्कोटको घरमा मृत फेला परेका एक युवाको हत्या भएको पीडित परिवारले दाबी गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका–१० का बास्कोटाको घरमा पौष १४ गते विहान सोही वडाका १८ बर्षीय सन्जिब भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । बास्कोटा र भण्डारीको विगत डेढ महिना यता नजिकको सम्बन्ध रहेको पारिवारिक स्रोतले जनाएको छ । बाल अधिकारकर्मी भण्डारीको मृत्यु रहस्यमय भएको भन्दै पीडित परिवारले छानविन गरी दोषीलाई कार्वाही माग गरेका छन् । मृतक भण्डारी जिल्ला बाल क्लव समन्वय समिति मोरङका पूर्व सदस्य तथा नगर बाल क्लब सञ्जालका पूर्व अध्यक्ष हुन् । छोराको मृत्यु रहस्यमय भएकाले सत्यतथ्य छानविन गर्न आमा राधिका भण्डारीले माग गरेकी छिन् । उनले नेकपा ओली समूहका केन्द्रीय सदस्य वास्कोटाले षडयन्त्रपूर्ण तरिकाले मारेको दाबी गरिन् । छोराले मलाई सोमबार साँझ ७ बजे तिर फोन गरेर युवराज दाईले मलाई बस्नु भन्नु भएको छ म यही बस्छु आज आउँदिन, यहाँ जग्गाको काम छ, म जग्गाको काम मिलाउँदै छु भोली आउँछु भनेको आमा राधिकाको भनाई छ । ह्दयघातका कारण छोराको मृत्यु भएको बताएपनि वास्तविकता छानविन नगरी बास्कोटालाई उन्मुक्ति दिन नहुने उनले बताइन् । ‘छोराको गर्धन फुलिएको छ, पेट फुलेको छ, एक पट्टिको कान निलो भएको छ’ मृतक भण्डारीका बुवा गोपाल भण्डारीले भने–‘मेरो छोरालाई त्यही घरमा नभई अन्य स्थानमै हत्या गरी घाटमा सुताइएको हुन सक्छ, कोठामा चुकुल पनि लगाइएको थिएन ।’ मृतक भण्डारीका दाजु दिवस भण्डारीले युवराज वास्कोटाले षडयन्त्रपूर्ण तरिकाले आफ्नो भाईको हत्या गरेको दाबी गरे । जागिरको प्रलोभन देखाएर घरबाट उसलाई लैजाने गरेको उनले बताए । बास्कोटाले कहिले नेपाल टेलिभिजनमा काम लगाइदिन्छु कहिले अब म मन्त्री भएपछि आफ्नै पिए बनाउँछु भन्ने कहिले बैदेशिक भ्रमणको अवसर मिलाई दिन्छु भन्दै प्रलोभन देखाउँदै भाईलाई काममा लगाउने गरेको उनले जानकारी दिए । ‘मैले त त्यो मान्छे ठिक छैन, नजानु भनेर भाईलाई सम्झाएको थिए’ उनले भने–‘ उ आफ्नै जिद्धिले जाने गथ्र्यो, अब घटना घटिसक्यो यसको सत्य तथ्य छानविन हुन प¥यो । ’
परिवार भन्छ, प्रहरीले घटनालाई गम्भिर लिएन
बास्कोटाको घरमा मृत अवस्थामा छोराको शव भेटिएपनि प्रहरी प्रशासनले घटनालाई गम्भिर नलिएको भन्दै पीडित परिवारले आरोप लगाएका छन् । उनीहरुले नेकपा केन्द्रीय सदस्य भएकै कारण बास्कोटालाई उन्मुक्ति दिन प्रहरीले चलखेल गरेको मृतकका बुवा गोपाल भण्डारीको भनाई छ । रहस्यमय तरिकाले छोराको मृत्यु हुँदासमेत आरोपित बास्कोटालाई शक्ति र पँहुजको घरमा पक्राउ नगरेको उनले आरोप लगाए । प्रहरीले निष्पक्ष रुपमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा उल्टै बास्कोटाको संरक्षण गरेको उनले बताए ।
स्थानीय भन्छन्, हत्या नै हो, न्याय नपाए आन्दोलन गछौं
बाल अधिकारकर्मी भण्डारीका छरछिमेकी पनि हत्या नै भएको दाबी गर्छन् । स्थानीय हस्तबहादुर गुरुङले मृतकको शवको प्रकृति हेर्दा हत्या नै भएको देखिएको बताए । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्नु प्रहरी प्रशासनलाई माग गरे । त्यस्तै, स्थानीय जगतबहादुर खत्रीले मृतक भण्डारीको हत्या भएको दाबी गर्दै दोषीलाई कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । हत्या हो वा होइन छानविन गर्नु पर्ने प्रहरीले बास्कोटालाई हालसम्म पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउनु नै घटना रहस्यमय रहेको उनको भनाई छ । भण्डारीको मृत्युसँगै पथरीशनिश्चरे वडा नम्वर १० को जिरीखिम्ती भने शोकमा डुबेको छ । यस बिषयमा बास्कोटासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय