
उर्लाबारी । नेपाल सनातन धर्म संस्कृति संगठनका केन्द्रीय अध्यक्ष पुष्पराज पुरुषले सनातन्त्र धर्म रक्षाको लागि आफ्नो जीवनलाई त्याग्न तयार भएको बताएका छन् ।
शनिबार मोरङको उर्लाबारी आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । दुई नम्बरी काम गरी कमाएको २÷४ लाख रुपैयाँ मन्दिरमा सहयोग गर्दैमा धार्मिक नेता नहुने बताउँदै सनातन धर्म र संस्मृतिको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको उनले बताए । ‘हामी धार्मिक व्यक्ति हौं, हामीले धर्म छाड्नु हुँदैन्, हामी हत्या हिंसामा विश्वास पनि राख्दैनौं’ उनले भने–‘अस्तित्वको रक्षार्थ हामीले आफूलाई तयार गर्नुपर्ने हुन्छ मात्र भनेको हो । अर्को कुरा केहि कँही अधर्मीहरुलाई परास्त गर्न हामीले कठोर निर्णय लिनुपर्ने हुन्छ ।’ २०६२÷०६३ सालको जनआन्दोलनको धर्म निरपेक्षताको एजेन्डा नभएको बताउँदै धर्म नभएको देश हुनै नसक्ने उनले दाबी गरे । पश्चिमी देशहरुको संस्कार र संस्कृति बढ्दै जानु चिन्ताको विषय भएकाले त्यसका विरुद्ध नेपाल सनातन धर्म संस्कृति संगठन कडा कदम चाल्ने उनले बताए । देश तस्कर, भ्रष्टचारी र दुई नम्बरी गर्ने नेताहरुको कब्जामा रहेकाले जनताले सुख, शान्ति र समृद्धिको आभाष गर्न नपाएको उनले उल्लेख गरे । नेपाल सनातन धर्म संस्कृति संगठन प्रदेश नं. १ का अध्यक्ष विनोद पोखरेललगायतले सनातन धर्मको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताए ।