उर्लाबारी । कोरोना भाइरसको संक्रमण र त्यसको प्रभावका कारण चौपट बनेको ब्यापार ब्यवसाय फेरि चलमलाउन थालेको छ ।
कोरोनाका कारण लामो समय बन्द रहेको होटल ब्यवसाय पनि चलमाउन थालेको हो । कोरोना भाइरस भित्रिनुअघिबाटै पूर्वी मोरङको उर्लाबारीका १४ जनाको संयुक्त लगानीमा उर्लाबारी–८ मा एभरेष्ट फनपार्क एण्ड रिसोर्ट प्रा.लि. सञ्चालनको तयारी सुरु भएको थियो । तर, कोरोनाका कारण रिसोर्ट सञ्चालन हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि सञ्चालकहरुले रिसोर्ट पौष १७ गते उद्घाटन गर्ने भएका छन् । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक हेमराज गुरुङले जानकारी दिए । पौष १७ गतेदेखि १५ दिनसम्म उद्घाटनका कार्यक्रमहरु रहेको उनले बताए । उद्घाटनमा सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए ।
२५ करोडको लागतमा उर्लाबारीमा पहिलो पटक एभरेष्ट फनपार्क सञ्चालनमा ल्याइएको हो । मनोरञ्जनका साधन र सुविधाका हिसाबले प्रदेश नं. १ उत्कृष्ट बनाउने लक्ष्य रहेको रिसोर्टका अध्यक्ष तुलसी श्रेष्ठले जानकारी दिए । साढे ७ विघा क्षेत्रफलमा फैलिएको रिसार्टमा अर्गानिक खेतीसमेत गरिएको उनले बताए । रिसोर्टको आफ्नै साढे तीन विघा जग्गा रहेको छ भने चार विघा लिजमा लिएको छ । ५ विघामा रिसोर्ट र बाँकी रहेको क्षेत्रमा अर्गानिक खेती सुरु गरिएको छ । माछापालन, कुखुरापालन, अर्गानिक सब्जी खेतीलगायत गरिएको सञ्चालक इन्द्र आङ्बुहाङले जानकारी दिए । रिसोर्टमा १४ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् भने पार्टी प्यालेस, सभाहललगायत रहेका छन् । रिसोर्टमा ९ सय ९९ रुपैयाँदेखि ४ हजार ९ सयसम्मका कोठा रहेका छन् । रिसोर्टमा सांगितिक कार्यक्रमका लागि स्टेजसमेत बनाइएको छ । बालबालिकाका लागि पनि स्विमङ पुल, पिङ, चिप्लेटीलगायत बनाइएको छ । फन पार्कमा रेस्टुरेन्टसमेत राखिएको छ । हालसम्म १५ करोड लगानी भइसकेको जनाइएको छ । मनोरञ्जनात्मक पार्क, पिकनिक स्थललगायतको ब्यवस्थापन चाँडै गरिने सञ्चालक गुरुङको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको फनपार्क सबै उमेरका लागि उपयुक्त रहेको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय