
उर्लाबारी । उर्लाबारी जेसीजको नेतृत्व चयनका विषयमा केही पूर्वअध्यक्ष हाबी हुँदा नेतृत्य चयन अन्यौलमा परेको छ ।
उर्लाबारी जेसीजको पौष १० गते बार्षिक साधारणसभा र पौष ११ गते शाखा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, हालसम्म पनि सहमतिको नाममा केही पूर्वअध्यक्षको रबैयाका कारण नेतृत्वको छिनोफानो हुन नसकेको जानकार स्रोत बताउँछ । पूर्वअध्यक्षहरुले आफ्नो पक्षका मान्छेलाई अध्यक्ष बनाउने चलखेल गरेपछि सहमतिका नाममा निर्वाचन हुन नसकेको हो । उर्लाबारी जेसीजको नेतृत्वका लागि लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहालको दाबी छ । पोमु, दाहाल र धिमालले निर्वाचनमार्फत भएपनि नेतृत्व लिने बताइरहेको भएपनि सहमतिको नाममा निर्वाचन समितिले अलमल गरिरहेको आरोप लागेको छ । ओझाले सर्वसम्मत आफूलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । केही पूर्वअध्यक्षले धिमाललाई उर्लाबारी जेसीजको अध्यक्ष सर्वसम्मत बनाउन लागि परेको जानकार स्रोत बताउँछ । तर, अन्य उम्मेद्वार धिमाललाई अध्यक्ष मान्न तयार छैनन् । दाहाल र पोमुले निर्वाचन गराउन दबाब दिइरहेका छन् । निर्वाचनबाट भएपनि नेतृत्व चयन गरौं भन्ने पक्षमा रहेका उम्मेद्वारहरुलाई सहमतिको नाममा उम्मेद्वारी फिर्ता गर्न पूर्वअध्यक्ष एबं निर्वाचन समितिबाटै दबाब दिने काम भएको एक उम्मेद्वारले नाम नबताउने सर्तमा भने । दबाबमा सहमतिका लागि भन्दै हस्ताक्षरसमेत लिएको उनले बताए । तीन दिनदेखि सहमतिको नाममा नेतृत्व चयनलाई अन्यौल पार्न खोजिएको भन्दै अधिकांश उम्मेद्वार रुष्ट भएका छन् । त्यस्तै, कार्यकारी उपाध्यक्षमा संदिप पौडेल, भीमप्रसाद घिमिरे, ताराप्रसाद खतिवडा, नविन श्रेष्ठ, टिकाप्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । ५ जनामध्ये २ जना कार्यकारी उपाध्यक्षमा निर्वाचित हुनेछन् । यी ५ जनाबीच पनि सहमति भने भएको छैन ।
त्यस्तै, उपाध्यक्षमा चेतन भट्टराई, पार्वती थापा, दिनेश दाहाल, सुजित जैसवाल, देवेन्द्र खड्का, रजित श्रेष्ठ, हेमन्त थापा र टिकाराम अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् । ८ जनामा ४ जना उपाध्यक्षमा चयन हुनेछन् । उनीहरुको पनि आ–आफ्नै दाबी छ ।
त्यस्तै, जनसम्पर्क अधिकारीमा सुष्मा बस्नेतको उम्मेद्वारी परेको छ । बस्नेतको मात्रै उम्मेद्वारी परेकाले उनी सर्वसम्मत चयन भएकी छिन् । अन्य पद भने अध्यक्षले मनोनित गर्ने छन् । नेतृत्वका लागि सहमति नभएकाले अन्य पदका उम्मेद्वारहरुसमेत अन्यौलमा रहेका छन् । निर्वाचन समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने भन्दा पनि दबाबमा परेर पटक पटक उम्मेद्वारी फिर्ताको समय सारिरहेको भन्दै अधिकांश रुष्ट बनेका छन् । निर्वाचन समितिले काम गर्न नसके भङ्ग गरेर विशेष साधारणसभाको माग गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिलाई निर्वाचन गर्ने जिम्मा दिएको हो की सहमति गराउने ? एक उम्मेद्वारले आक्रोशित हुँदै भने–‘कहिलेसम्म झुल्याउने ? ’
अध्यक्षका प्रत्यासी छोड्ने मुडमा छैनन्
अध्यक्षका प्रत्यासी तारानाथ दाहाल, लोलिम पोमु र अशोक धिमाल छोड्ने मुडमा छैनन् । पटक पटक भएका सहमतिका पहलहरु सफल बन्न नसकेको कारण अब चुनाबको विकल्प नभएको बताइन्छ । दाहाल र धिमाल यसअघि देखि नै अध्यक्षका दाबेदार भएको र जेसीजमा ठूलो योगदान गरेका कारण यस पटक आफुले नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् । त्यस्तै, पोमुले पनि अध्यक्षमा आफ्नो तयारी अघि बढाएका कारण पछि हट्न सक्ने अवस्था नरहेको बुझिएको छ । यता ओझाले पनि आफ्नो पक्षमा सर्वसम्मत बनाउन प्रयास गरिरहेका छन् ।