मोरङ । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ ।

कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

प्रसङ्ग हो,उर्लाबारी–४ विशाल टोलका ३४ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँ बजारकी २७ वर्षीया सम्झना लिम्बूबीचको ।

झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हानेका बयलकोटीले केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहे ।

एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाए, तर फोन काटियो । सोही नम्बरमा फेरि फोन दवाए । पहिलोपटकमा फोन उठेन, अर्काेपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताए ।

सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो ।

त्यसपछि विर्तामोडमा भेट्ने भन्ने सल्लाह भयो । उनीहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने बने। त्यसपछि उनीहरुले प्रेम विवाह गरे । होमबहादुर बयलकोटीले भने, ‘दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।’ उनीहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय