
काठमाडौ । नेपालमा चिनले कल्पना नै नगरेको घटना भएपछि चिनियाँ अधिकारीहरुको दौडधुप फेरी सुरु भएको छ । चिनियाँ राजदुत होउ यान्छीले राष्ट्रपति विद्या देवी भण्डारी लगायत नेकपाका नेताहरुलाई भेटेकी छन् भने अब लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल पनि नेपाल भ्रमणमा आउने भएको छ । आइतवार नै
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक टोली काठमाडौ आइपुग्ने भएको छ । नेपालमा ठूलो लगानी गरेर साझेदारीमा विभिन्न आयोजना सुरु गर्ने योजनामा रहेको चीन अचानक नेकपा विभाजन पछि अप्ठेरोमा परेको छ । त्यसैले सो टोलीले नेकपा विभाजनको कारणका बारेमा जानकारी लिने उद्देश्यले आउन लागेको बताइएको छ ।
नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजनाका योजना बनेका थिए । भारतीय गुप्चरसंस्था रअ का प्रमुख सामन्त कुमार गोयल लगायत सेना प्रमुख र अन्य भारतीय अधिकारीको नेपाल भ्रमण पछि देखिएको नेकपाको विवादलाई पनि चीनले फरक ढंगले विश्लेषण गरेको बुझिएको छ ।
उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले चार दिन नेपालमा रहने र नेकपाका नेताहरुसंग भेटघाट गर्ने बताइएको छ । त्यसका लागि नेकपाका अध्यक्ष माधवकुमार नेपालसंग समय पनि मिलाई सकेको छ । गुओलै दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।
नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र नेपालसँग भेटवार्ता गरेकी छन्। राजदूत होउले शुक्रबार नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग पनि भेटिन्।