
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा नयाँ वडा कार्यालय भवनको निर्माण कार्य सुरु गरिएको छ। करिब १ करोड ७७ लाख रुपैयाँ लागतमा गरिमा निर्माण सेवा कम्पनी भद्रपुर, झापाले एक वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको छ।
वडा अध्यक्ष कल्याणकुमार राईका अनुसार भवन निर्माणको लागि स्थानीय सुरेन्द्रबहादुर निरौलाले चार कट्ठा र मधुमल्लाका जय गोपाल साहले १० धुर जग्गा दान गरेका छन्। सो भवन उर्लाबारीस्थित विद्युत प्राधिकरणको फ्युज शाखा कार्यालय छेउबाट पश्चिमतर्फ र पूर्व–पश्चिम राजमार्गको बक्राहा पुल पूर्वबाट दक्षिण जाने सडक पनि निर्माण हुन लागेको हो। साथै, सो स्थानसम्म पुग्ने सडकको निर्माण पनि एकैसाथ अगाडि बढाइने जनाइएको छ।
हाल वडा कार्यालय इलाका हुलाक कार्यालयको भवनमा सञ्चालनमा रहेको छ। नयाँ भवन निर्माणपछि सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने वडा अध्यक्ष राईले बताएका छन्।
स्थानीयको सक्रियता र दातृ मनको उदाहरण बनेको यो परियोजना, उर्लाबारी ४ को प्रशासनिक सेवा विस्तार र जनसुविधाका लागि एक महत्वपूर्ण कदम मानिएको छ।