
उर्लाबारी । पूर्वोत्तर मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीको आफ्नै भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।
क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बुधबार भवनको शिलान्यास गर्नुभएको हो । उर्लाबारी–६ मा निर्माणाधीन बसपार्कको उत्तरतर्फ रहेको ६ कठ्ठा जग्गामा उक्त भवन निर्माण सुरु गरिएको पूर्वअध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । उर्लाबारीका अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले क्लबलाई उक्त जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । क्लबका अध्यक्ष कुमार खड्काका अनुसार, यस वर्षदेखि निर्माण कार्यको औपचारिक सुरुवात भईसकेको छ । थप आवश्यक बजेटका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी भवन चाँडै निर्माण गरिने उहाँको भनाई छ । ै साढे ४ करोड रुपैयाँ लागतमा सम्पन्न हुने उक्त भवन आधुनिक पूर्वाधारयुक्त तीन तले संरचना हुनेछ, जसमा सञ्चारकर्मीहरूको बैठक, तालिम, गोष्ठी र सेमिनारका लागि आवश्यक सबै सुविधा रहने सेमिनार हलसमेत समावेश गरिनेछ ।
२०६० सालमा दुर्गाप्रसाद खतिवडाको अध्यक्षतामा स्थापना भएको सञ्चार क्लब नेपालले हाल उर्लाबारी–७ मा रहेको परोपकार सेवा केन्द्रको भवनबाट नियमित गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबमा हाल ४१ जना सदस्य आबद्ध छन् । क्लवको आफ्नै भवन निर्माण सुरु भएसंगै पूर्वी मोरङका पत्रकारहरूलाई थप संगठित, सशक्त र व्यावसायिक बनाउने विश्वास लिइएको छ ।