पथरी । पथरी शनिश्चरे नगरपालिका–१० मा रहेको पूर्व–पश्चिम राजमार्गको किनारमा अनाधिकृत रूपमा “राजस्व” असुली हुँदै आएको रहस्य खुलेको छ। स्थानीयवासीले निजी सवारी साधनसमेत रोक्दै युवाहरूको समूहले आफैं बिल काटेर रकम उठाउँदै आएको गुनासो गरेपछि नगर प्रहरीले सोमबार कडा कारबाही गरेको हो।
नगर प्रहरीले अनधिकृत रूपमा बनाइएका टहरा भत्काउनुका साथै त्यहाँ रहेका सामान जफत गरेको छ। स्थानीय तहले पटक–पटक निगरानी गर्दा पनि असुली गर्दै आएका युवाहरू नगर प्रहरीको गाडी देख्नासाथ गाउँतर्फ भाग्ने गरेको नगर प्रहरी प्रमुख असई योगेन्द्र श्रेष्ठले बताए।
“हामी थुप्रैपटक गएका थियौं। तर प्रहरीको सवारी देखेपछि उनीहरू भागिहाल्थे। यसपटक स्थानीयको दवाव र प्रमाणका आधारमा कारबाही अघि बढायौं,” श्रेष्ठले भने।
स्थानीयवासीका अनुसार, उक्त स्थानमा लामो समयदेखि अवैध असुली हुँदै आएको थियो। विशेषगरी मालबाहक गाडी मात्र होइन, निजी गाडीहरूलाई समेत रोकेर झुटो बिल दिँदै पैसा असुल्ने गिरोह सक्रिय थियो।
कानून विपरीत भएको यस्तो गतिविधिबाट सवारी चालकहरू हैरान भएका थिए भने स्थानीयले पनि सुरक्षा चुनौती बढेको गुनासो गर्दै आएका थिए।
नगरपालिकाले यस्ता अवैध असुली केन्द्रहरू अब निरन्तर निगरानीमा राखिने र दोहोरिए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
प्रहरीको चनाखो निगरानीका बाबजुद यस्तो “राजमार्ग ठगी” कसरी मौलायो? अब कसरी नियन्त्रणमा ल्याइन्छ? – स्थानीय तहको जवाफ कुर्न बाँकी नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय