
उर्लाबारी । नेपालका आदिवासी जनजाति समुदायमध्ये एक धिमाल जातिको मौलिक पर्व ‘जात्री’ आजबाट सुरु भएको छ। वैशाख २ गतेदेखि सुरु हुने यो पर्व असार २ गतेसम्म धुमधामसँग मनाइनेछ।
मोरङको लेटाङ नगरपालिका–५, भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्वको विधिवत् सुरुवात गरिएको हो। ग्रामथानमा हाँस, कुखुरा र सुँगुरको बलि दिई परम्परागत शैलीमा पूजा अर्चना गरेर पर्व आरम्भ गरिन्छ। प्रकृतिपूजक धिमाल समुदायले वर्षा समयमा राम्रो बाली होस्, रोगव्याधि नलागोस् र जंगली जनावरबाट हानी नहोस् भन्ने कामनासहित पूजा गर्ने गर्छन्।आज लेटाङको राजारानी ताल, जुन धिमालहरूको ऐतिहासिक महत्वको स्थल हो त्यहाँ आज भव्य रूपमा मेला लाग्ने गर्दछ।यसको पहलपहल हिजैदेखि सुरु भएको छ।
धिमाल जाति विकास केन्द्रका महासचिव मात्रिका धिमालका अनुसार ‘सिर्जात’ अर्थात सामूहिक पूजा या जात्री नयाँ वर्षको पहिलो चाडको रूपमा मनाइन्छ। यस अवसरमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतका देवता–देवीको पूजा गरिन्छ।
पर्वले समुदायमा आपसी सम्बन्ध बलियो बनाउने र बन्धुत्वको भावना विकास गराउने विश्वास गरिएको छ। धिमाल समुदायले व्यक्तिगत मनोकामना पूरा भएपछि जात्रीको अवसरमा भाकलअनुसार देवताहरुलाई वस्तु चढाउने परम्परा पनि छ।
धिमाल समुदायको जनघनत्व रहेका कोशी प्रदेशका १०८ टोलमा जात्री पर्व मनाइँदैछ। यस अवसरमा गाउँगाउँमा मेला लाग्ने, पाहुनालाई मासु, चिचिरी, बगिया जस्ता परिकार खुवाउने र घरघरमा रमाइलो गर्ने गरिन्छ।
उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापछि आयोजना गरिने भव्य सांस्कृतिक मेला मार्फत जात्री पर्वको समापन गरिनेछ। मेलामा ढोलको आवाज ‘ढङढङ’ सुनिने भएकाले कतिपयले यो पर्वलाई ‘ढङढङे’ पनि भन्ने गरेका छन्।