
उर्लाबारी । नेकपा एमाले उर्लाबारीको दोस्रो नगर अधिवेशन सुरु भएको छ । मंगलबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो ।
उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य राईले पार्टीलाई जनताको भरपर्दो अभिभावक बनाउन लागिपर्नुपर्ने बताउनुभयो । उहाँले हाल देशमा अस्थिरता निम्त्याउन केहि शक्तिहरु लागिपरेको बताउँदै त्यस्ता व्यक्ति वा समूहहरुको पछि नलाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले मोरङका सचिव सोमराज थापा लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा अग्रज नेता घनश्याम भण्डारी, सूर्य गुरागाईलगायत पार्टीमा योगदान पुर्याउने १० जनालाई सम्मान गरिएको थियो ।
यसैबीच उद्घाटन सत्र सम्पन्न पश्चात बन्द सत्रको कार्यक्रममा विभिन्न पदमा आकांक्षीहरुले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिलउम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।
एमाले उर्लाबारीको अध्यक्ष पदमा निरोज तिम्सिना, गोपालप्रसाद रिमाल, सुरेन्द्र शेर्मा र यामबहादुर न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, उपाध्यक्ष पदमा योगराज लिम्बु (लाबुङ) , सुरेश शाक्य, भरतमणि गौतम, शेरबहादुर भण्डारी र खेमचन्द्र थापाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै, सचिब पदमा चेतन सिक्देल, ईन्द्रबहादुर भट्टराई र सुनिल धिमालले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तैगरी, उपसचिव पदमा नितम चौहान, रुद्रप्रसाद लामिछाने, लक्ष्मीप्रसाद श्रेष्ठ र भीमबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । साथै, महिला उपसचिवमा हिरा श्रेष्ठ र अमृता नेपालीले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिकी संयोजक भिष्मा रेग्मीका अनुसार बुधबार विहान ८ बजेसम्म उम्मेद्वारी फिर्ताको समय दिईएको छ ।