
उर्लाबारी । यही चैत्र २६ गते नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको दोस्रो नगर अधिवेशन हुँदैछ । नगरअधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् ।
नगर कमिटीको अध्यक्ष वर्तमान अध्यक्ष गंगाप्रसाद बास्तोलाले मैदान खाली गरेपछि सुरेन्द्र शेर्मा, मेघराज श्रीपाली, निरोज तिम्सिना र गोपालप्रसाद रिमाल नेतृत्व लिने होडमा हुनुहुन्छ । चारै जनाले सशक्त अध्यक्षमा दाबेदारी प्रस्तुत गर्नुभएको छ । जसका कारण सर्वसम्मत नेतृत्व चयन गर्न सकस देखिएको छ ।
शेर्मा, श्रीपाली र तिम्सिना संस्थापन (केपी शर्मा ओली) समूह निकट मानिन्छन् । उनीहरुमध्ये एक जनालाई उम्मेद्वार बनाउन संस्थापन पक्षले कसरत गरिरहेको बुझिएको छ । जसमध्ये श्रपालीलाई अघि सार्ने सम्भावना बढि रहेको जानकार स्रोत बताउँछन् । यसअघि निर्वाचनमा पराजित हुनुभएका शेर्माले पनि सशक्त दाबी प्रस्तुत गरिरहनुभएको छ भने निम्सिना पनि यस पटक आफुले नेतृत्व पाउनु पर्ने बताउँदै आउनुभएको छ । रिमाललाई भने वर्तमान अध्यक्ष गंगाप्रसाद बास्तोलासहितको समर्थन देखिएको छ । यद्यपी बास्तोलाले सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा पहल भइरहेको बताउनुभएको छ ।
अध्यक्षमात्र होइन उपाध्यक्ष, सचिब, सह–सचिबमा पनि आकांक्षीहरुले उम्मेद्वारी घोषणा गरिरहेका छन् । उपाध्यक्षमा सुरेश शाक्य, योगराज लिम्बू, शेरबहादुर भण्डारी, खेमचन्द्र थापालगायतले उम्मेद्वारी घोषणा गर्दै आफ्नो पक्षमा माहोल सिर्जना गरिरहनुभएको छ । त्यस्तै, सचिबमा इन्द्र भट्टराई, सुनिल धिमाल, हरि कटुवाललगायतले उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै, सहसचिबमा अमृता नेपाली, छबिलाल दाहाल, नितम चौहान, रुद्र लामिछाने, बिष्णुकुमार श्रेष्ठलगायतले उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ ।