
काठमाडौं । सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरिएको जानकारी गराए ।
‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने ।
त्यस्तै, उक्त प्रदर्शनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने निर्णय भएको उनले जानकारी गराए ।
‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषिउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय मन्त्री गुरुङले जानकारी दिए ।