
उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नगर अधिवेशन यही चैत २६ गते हुने भएपछि अध्यक्ष पदमा आकांक्षीहरुको रसाकस्सी सुरु भएको छ ।
वर्तमान अध्यक्ष गंगाप्रसाद बास्तोलाले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेसँगै आकांक्षीहरुबीच रसाकस्सी सुरु भएको हो । बास्तोलालाई उर्लाबारीमा चतुर र प्रभावशाली नेताको रुपमा मानिन्छ । सबैलाई मिलाउन सक्ने क्षमता भएका बास्तोला उर्लाबारी–३ निवासी हुनुहुन्छ । बास्तोलासँगै यसअघिको निर्वाचनमा पराजय भोग्नुभएका सुरेन्द्र शेर्मा, मेघराज श्रीपाली, निरोज तिम्सिना र गोपालप्रसाद रिमालले आकांक्षा ब्यक्त गर्नुभएको छ । उर्लाबारी–९ निवासी सुरेन्द्र शेर्मा अध्यक्ष पदका पराजय भोगेपनि निरन्तर पार्टीको संगठन विस्तार तथा सामाजिक गतिबिधिमा सक्रिय हुनुहुन्छ । यस पटक एमाले उर्लाबारीको अध्यक्षमा सबैको साथ र सहयोग पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।
त्यस्तै, अध्यक्षका अर्का आकांक्षी उर्लाबारी–७ का मेघराज श्रीपाली विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । त्यसैकारण उहाँ एमाले उर्लाबारीको नेतृत्व आउने चाहना व्यक्त गरिसक्नुभएको छ । पार्टीलाई थप उचाईमा पु¥याउने आकांक्षासहित उहाँले एमाले उर्लाबारीको अध्यक्षमा दाबी गरिरहनुभएको छ ।
त्यस्तै, उर्लाबारी–७ कै निरोज तिम्सिना उर्लाबारीका पुराना कार्यकर्तामा पर्नुहुन्छ । विभिन्न संघसंस्थामा रहेर सामाजिक सेवाका काम गर्दै आउनुभएका तिम्सिनाको परिवारका अधिकांश एमालेमै सक्रिय राजनीति गरिरहेका छन् । श्रीमति पुष्पा तिम्सिना एमालेनिकट अखिल नेपाल महिला संघ र छोरा नितेश तिम्सिना एमाले निकट अनेरास्ववियूमा रहेर राजनीति गरिरहनुभएको छ । पार्टीमा लामो संर्घष गर्नुभएका तिम्सिना अध्यक्षका बलिया दाबेदार मानिनुभएको छ । यसअघिसमेत उहाँले नेतृत्वमा त्याग गर्दै आउनुभएको थियो । यस पटक अध्यक्ष बनेर पार्टी हाक्ने तयारीमा तिम्सिना रहनुभएको छ ।
त्यस्तै, वर्तमान सचिब गोपालप्रसाद रिमालले पनि अध्यक्षमा आकांक्षा ब्यक्त गर्नुभएको छ । पुराना कार्यकर्ता रिमाल सचिबको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेकाले १ पटक अध्यक्ष भएर उर्लाबारीमा एमालेमय बनाउने योजनाका साथ दाबी गरिरहनुभएको छ । एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मैले नेतृत्व हस्तान्तरण गर्ने भए, अब नेतृत्वमा आउने आकांक्षा राख्ने साथीहरुबीच सहमतिका आधारमा नेतृत्व चयन गर्ने मेरोतर्फबाट पहल हुनेछ ।’