
सरोज बस्नेत
उर्लाबारी नगरपालिकाभित्रका ९ वटै वडामध्ये सबैभन्दा धेरै विकसित वडाको रुपमा परिचित रहेको छ, उर्लाबारी नगरपालिका वडा नं. ६ । भूगोलको हिसाबले सानो वडा मानिए पनि यो वडा विकासको हिसाबले निकै अघि रहेको छ । यस वडाको पूर्वमा मावा खोला, पश्चिममा उर्लाबारी–मधुमल्ला–झारसाँदी सडक र उत्तरमा नगरकै वडा नं.१, दक्षिणमा पूर्वपश्चिम राजमार्ग रहेको छ । यो वडा २ दशमलव ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सडक कालोपत्रे, पेवल, ग्राभेललगायतका काम तीब्र गतिमा अघि बढिरहेका छन् । यस वडाको जम्मा जनसंख्या ५ हजार ६ सय ७० रहेको छ । जसमध्ये पुरुष २ हजार ७ सय ४९ जना र महिला ३ हजार २१ जना रहेको छ । यस वडामा १ हजार ४ सय ४० घरधुरी संख्या रहेको छ । २० भन्दा बढी जातजातिका मानिसहरुको यस वडामा बसोबास रहेको छ भने ७ वटा धर्म मान्ने धर्मालम्बीहरु यहाँ बस्ने गर्दछन् । यस वडामा १७ प्रकारका मातृभाषाको प्रयोग हुने गरेको छ ।
यस वडामा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, तामाङ, दमाई, कामी, सार्की, मारवाडी, मधेसी, मुस्लिमलगायत जातजातिको मिश्रित बसोबास रहेको छ । यहाँका मानिसहरु घरधन्दा,कृषि, नोकरी, ज्यालादारी, दक्ष रोजगारी, बैदेशिक रोजगारी, व्यापार, उद्योग जस्ता पेशामा आबद्ध छन् भने केही बेरोजगार पनि छन् । व्यापार, व्यवसाय, कृषि, नोकरी र वैदेशिक रोजगारी यस वडाको मुख्य आयस्रोत मानिन्छ ।
यस वडामा आफ्नै वडा कार्यालयको भवनबाट सेवा प्रवाह भइरहेको छ । वडाले छिटो र छरितो सेवा प्रवाह गरिरहेको छ । भवन निर्माणका लागि दमक नगरपालिका वडा नं. ४ का लक्ष्मीप्रसाद आचार्य र नरमाया आचार्यले ३ कट्ठा जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । २०७८ फागुन २० गते शिलान्यास भएको उक्त भवन १ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भई २०८० असार २९ गतेदेखि आफ्नै भवनवाट कामकाज सुरु गरिएको थियो । दुई तले सो भवनको पहिलो तलामा वडाध्यक्ष, सचिवको कार्यकक्ष र राजश्व शाखा रहेको छ भने दोस्रो तलामा वडा सदस्य, किचन र सेमिनार हल रहेको छ ।
यो वडा कार्यालयले न्याय सम्पादन तथा सुशासनका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ । महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक विकास, खेलकुदलगायत क्षेत्रको विकासमा पनि वडाले प्राथमिकताका साथ अघि बढाएको छ । यस वडामा १२ वटा कृषि समूहहरु रहेका छन् । कृषि समूहमार्फत कृषकलाई कृषि पेशामै टिकाइराख्ने उद्देश्यसहित यान्त्रिकीकरण गर्न वडाले कृषि उपकरण सहयोग गर्दै आएको छ । किसानहरुलाई सिचाईका लागि बोरिङ , मकैको विउ, स्प्रे, च्यापकटर, मकै छोड्याउने मेसिन, मकै रोप्ने मेसिन वितरण गर्दै आइरहेको छ । वडाले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिरहेको छ । यस वडामा ४ सय हेक्टर क्षेत्रफल कृषियोग्य क्षेत्र रहेको छ ।
धेरै गाउँटोलले घेरिएको यस वडामा विकासे योजनाका कामहरु पनि तीव्र गतिमा अघि बढेका छन् । सामाजिक विकासतर्फ धेरै कामहरु भएका छन् । बालबिवाह, लैङ्गिक हिंसा जस्तै थुप्रै सामाजिक समस्याहरुलाई न्यूनीकरण गर्दै वडाका जनप्रतिनिधि तथा कर्मचारी अघि बढेका छन् । धिमाल समूदायको पेटानीको संरक्षणका लागि वडा कार्यालयले सहयोग गर्दै आएको छ । धिमाल ग्रामथानको भवनमा पेटानी बुन्ने तानहरु राखिएको छ । जसले धिमाल समूदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने काम गरेको छ । पेटानीको संरक्षणका साथै महिलालाई आत्मनिर्भर बनाउन वडाको भूमिका महत्वपूर्ण छ ।
यो वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ । उर्लाबारी नगरमा पहिलो पटक यो वडालाई वालमैत्री घोषणा गरिएको हो । वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै यस वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
यस वडामा ८ वटा टोल विकास संस्थाहरु रहेको छन् । आत्मनन्द टोल विकास संस्था, हाटखोला टोल विकास संस्था, सिद्धार्थ टोल विकास संस्था, सिद्धेश्वर टोल विकास संस्था, जनपथ टोल विकास संस्था, तरुण चौक टोल विकास संस्था, सूर्य चौक सिसौली टोल विकास संस्था र सिमाना वस्ती टोल विकास संस्था रहेका छन् । यो वडा कार्यालयले टोल विकास समितिमार्फत जनता माझबाट आएका योजनाहरुमार्फत विकास निर्माणका काम गरिरहेको छ । पूर्वाधार विकास, सामाजिक विकासका धेरै कामहरु उपभोक्ता समितिमार्फत भएका छन् । पहिले वडाभित्रका भौतिक पूर्वाधारहरुको अवस्था दयनीय थियो, अहिले रुप फेरिएको छ । भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर वडाले काम अघि बढाइरहेको छ । वडामा विकासे कामको अनुगमनका साथै योजनाका काममा सक्रिय रुपमा जनप्रतिनिधिहरु लागि पर्दै आएका छन् । बजेट कार्यान्वयनमा चासो लिएर वडाको विकासका लागि जनप्रतिनिधिहरु सक्रिय भई लागि पर्ने गरेका छन् । दिगो र दरिलो रुपमा विकासका योजना वडाले अघि बढाइरहेको वडाध्यक्ष चिन्तामणि पौडेल बताउनुहुन्छ ।
वडाको विकास र समृद्धिका लागि यस वडाले विभिन्न आयोजनाहरु सञ्चालन गरिरहेको छ । ती मध्ये कतिपय योजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा रहेका छन् । योजना सञ्चालन तथा कार्यान्वयन गर्दा निर्वाहमुखी मात्रै नभई निर्यातमुखी स्तरको गर्दा आर्थिक उपार्जन हुने खालका योजना सञ्चालनमा वडाले ध्यान दिएको छ । जनतालाई सहजता होस् भनेर बैंकसँगको सहकार्यमा अशक्त ज्येष्ठ नागरिकहरुलाई घरघरमा सामाजिक सुरक्षा भत्ता वितरणको काम पनि वडा कार्यालयले गरिरहेको छ । वडाले ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर सञ्चालन गरी वडावासीहरुलाई सेवा प्रवाह गर्ने काम गर्दै आएको छ । यस वडाले महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिसांका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । वडावासीहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको छ । वडावासीलाई सहजरुपमा सेवा दिएर, करदातालाई खुशी बनाएर कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने बोध गराउन वडा कार्यालय सफल बनिरहेको छ । सेवाग्राहीलाई धेरै सहज र छिटोछरितो सेवा प्रवाह गरी सिंहदरबार गाउँगाउँमा भन्ने नारालाई पूर्ण कार्यान्वयन गर्न यो वडा सफल भएको देखिन्छ । वडाले भूमिकर, घरबहाल कर, सिफारिस शुल्क, सम्पत्ति मूल्यांकन, आम्दानी प्रमाणित, पञ्जीकरण शुल्क, सर्जवनी प्रमाणितलगायत सेवा प्रवाह गर्दै आएको वडासचिब बालकुमार बराल बताउनुहुन्छ ।
यस वडामा उर्लाबारी खानेपानी, सामुदायिक विकास मञ्च, उर्लाबारी जेसीज, नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति, जेष्ठ नागरिक परोपकार आराम गृहलगायतका सामाजिक संस्थाहरु रहेका छन् । वडाले दलित, अपाङ्गता, जेष्ठ नागरिक, महिला सशक्तिकरणमा सहयोग पु¥याउँदै आएको छ । दलित समूदायको उत्थानका लागि वडा कार्यालयमार्फत आरन वितरण, क्षमता विकास तालिम, कानुनी साक्षरता तालिम, निशुल्क स्वास्थ्य बिमा, निशुल्क धारा जडान, विपन्न आवासलगायतका कार्य गरिएको छ । जेष्ठ नागरिकलाई तिर्थयात्रा तथा अवलोकन भ्रमण, मासिक खाजालगायतको व्यवस्थामा पनि वडा कार्यालयले सहयोग गर्दै आइरहेको छ । विपन्न वर्गका सुत्केरी तथा गर्भवती महिलालाई पोषण कार्यक्रम, ब्यूटीपार्लर तालिम, ब्याग बनाउने तालिम, सरप बनाउने तालिम, कक्षा १२ उर्तिणलाई कम्प्युटर तालिमलगायत सञ्चालन गर्दै आएको छ । बालबालिकाहरुको क्षमता विकास, खेलकुद, विभिन्न जातजाति, धर्म संस्कृतिको संरक्षण र प्रबद्र्धन, अपाङ्गता भएका समूहलाई खाजा खर्च तथा टेवा पुँजी, पुस्तकालय ब्यवस्थापनलगायतमा पनि वडा कार्यालयले सहयोग पु¥याउँदै आएको छ । वाल निर्माण, कुलो निर्माण, सडक बत्ती, स्ल्याब निर्माण, पेवल, कल्र्भट निर्माण, कालोपत्रे, डे«न निर्माण, ग्राभेललगायतका काम वडाले गरिरहेको छ ।
वडाका जनप्रतिनिधिको अवस्थाः
उर्लाबारी नगरपालिका २०३५ सालमा मधुमल्ला गाउँ पञ्चायतको ५ र ९ नम्बर वडा, लेटाङ गाउँ पञ्चायतको ७,८ र ९ नम्बर वडाका केही भाग मिलेर उर्लाबारी बनेको थियो । उर्लाबारी गाविसलाई सरकारले २०७१ बैशाख २५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा गरेको थियो । तत्पश्चात सरकारको २०७३ फागुन २७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स. र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई हालको उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन भएको थियो । जस अन्तरगत उर्लाबारी नगरपालिकामा ९ वटा वडा कायम भएको थियो । साविक उर्लाबारी वडा नम्बर ३ नै हालको उर्लाबारी नगरपालिका वडा नं. ६ हो । वडाको तथ्याङ्क अनुसार २०३५ देखि २०४२ सम्म धनबहादुर कार्की वडाध्यक्ष बनेका थिए भने २०४२ सालदेखि ०४६ सम्म मेहरमान लिम्बू, २०४९ सालदेखि २०५४ सम्म चक्र कार्की, २०५४ देखि २०५९ सम्म क्याप्टेन लालबहादुर राई जनप्रतिनिधिको रुपमा रहेका थिए । त्यसपछि लामो समय जनप्रतिनिधि विहीन रह्यो । २०७४ र २०७९ को निर्वाचनमा वर्तमान वडाध्यक्ष चिन्तामणि पौडेल निर्वाचित बन्नुभयो । दुई पटक वडाध्यक्षमा निर्वाचित हुनुभएका पौडेल जनप्रिय मानिनुहुन्छ ।
वडाको शैक्षिक अवस्थाः
यो वडामा कोशी प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापित सामुदायिक विद्यालय राधिका माध्यमिक विद्यालय रहेको छ । यस विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिइरहेको छ । २०२५ सालमा स्थापना भएको राधिका माबिमा शिशु कक्षादेखि १२ कक्षासम्म पढाइ हुने गरेकोछ । कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन, शिक्षा, कानुन र विज्ञान संकायको पढाइ भइरहेको छ । र प्राबिधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् । वर्षेनी दुई÷तीन सय विद्यार्थी निजी विद्यालय छाडेर यस विद्यालयमा अध्ययनका लागि आउने गर्दछन् । विद्यालयमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म पढाइ हुने बेग्लै ब्लग छ । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो । त्यसैगरी स्नातक तहसम्मको पठन पाठन गराउँदै आएको मोरङ मोडल कलेज पनि यसै वडामा विद्यमान छ । निजी क्षेत्रको प्रतिष्ठित मानिएको मोरङ मोडलमा बाल कक्षादेखि त्रिभुवन विश्वविद्यालयको स्नातक तहसम्म पढाई हुने गरेको छ । त्यसैगरी होलिचायल्ड बोर्डिङ, कुडोस् विद्यासदन, उर्लाबारी वल्र्ड एकाडेमी र सृजना लालिगुँरास बोर्डिङ पनि यसै वडामा रहेका छन् । त्यस्तै, सिद्देश्वर शिब बाबाधाम गुरुकुल शिक्षालय पनि यस वडामा रहेको छ ।
धार्मिक अवस्थाः
यो वडा धार्मिक दृष्टीकोणले पनि महत्वपूर्ण मानिन्छ । यस वडामा हिन्दु, बौद्ध, किराँत, प्रकृति, इसाई, मुस्लिमलगायत धर्म मान्ने समूदायको बसोबास रहेको छ । यस वडामा हिन्दुहरुको सिद्देश्वर शिब बाबा धाम, महारुद्र शिवालय मन्दिर, कृष्ण मन्दिर, सत्यनारायण मन्दिर रहेको छ भने किराँतको आत्मानन्द मिङ्सो माङहिम, प्रकृति पुजक धिमालहरुको धिमाल ग्रामथान, बौद्ध धर्मालम्बी गुरुङहरुको तमु बौद्ध गुम्बा र तामाङहरुको बुद्ध ज्योति गुम्बा रहेको छ । इसाईहरुको आधिकारिक चर्च नभएपनि प्रार्थना स्थल भने रहेको छ । यस वडामा सबै धर्मका मानिसहरुबीच एकअर्काप्रति सद्भाव र एकता रहेको छ । साथै, ढुंगाना प्रतिष्ठान, मुडुला कार्की प्रतिष्ठान तथा कुलपुजा स्थल, घिमिरे प्रतिष्ठान तथा कुलपुजा स्थल पनि यसै वडामा रहेको छ ।
स्वास्थ्यको अवस्थाः
यस वडामा वडा कार्यालयसँगै आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । आफ्नै भवनमा स्वास्थ्य केन्द्र सञ्चालित रहेको छ । दुई जना स्वास्थ्यकर्मी र एक जना सहयोगीमार्फत सेवा प्रवाह हुँदै आएको छ । प्राथमिक स्तरका स्वास्थ्य सेवाहरु यहाँबाट प्रवाह हुने गरेको आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख सविना धिमाल बताउनुहुन्छ ।
यस्तै, यो वडामा निजी स्तरको पञ्चावती हस्पिल सञ्चालनमा रहेको छ भने एक दर्जन भन्दा बढी क्लिनिक तथा औषधालयहरु सञ्चालनमा छन् । आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने अभियान सञ्चालन गरिरहेको छ । वडाको सिफारिसमा उपचारको अभाव भएका बिरामीहरुलाई नगरपालिकामार्फत आर्थिक सहयोग प्रदान हुँदै आएको छ । वडा कार्यालयको सिफारिसमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको ब्यवस्था मिलाएको छ ।
सडक सञ्जालको अवस्थाः
सडक कालोपत्रे, डे«न निर्माण, ग्राभेल, पेवललगायतको काम यस वडामा तीब्र गतिमा अघि बढिरहेको छ । उर्लाबारी नगरपालिकाभित्र सबैभन्दा वढी सडक कालोपत्रे हुने वडामध्ये यो वडा पर्दछ । सडक कालोपत्रे र पेबल लगाउने काम भइरहेको छ भने अधिकांश सडकमा डे«न निर्माण भइसकेको छ । केही स्थानमा कच्ची सडक रहेको छ । हालसम्म १० किलोमिटर कालोपत्रे, २ किलोमिटर पेबल, २० किलोमिटर डे«न, ५० किलोमिटर सडक ग्राभेल गरिसकेको अवस्था रहेको छ । वडाको सिलिङ बजेटबाटै अधिकांश काम भएका छन् । नगर, प्रदेश र संघको कम ध्यान पुगेको यो वडाले पूर्वाधार विकाससँगै आर्थिक विकास, सामाजिक विकास, विपद व्यवस्थापनलगायतका काममा पनि उत्तिकै प्राथमिकता दिएको छ ।
सञ्चार अवस्थाः
यस वडाबाट अलकापुरी नेपाल साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको छ भने युवा मन नेपाल अनलाइन मिडिया सञ्चालन हुँदै आएको छ । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको भवन निर्माण यसै वडामा हुँदैछ । भवनको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने भवन निर्माणको प्रक्रिया अघि बढिसकेको छ । त्यस्तै, यो वडामा तीन जना संचारकर्मी क्रियाशिल रहेका छन् ।
खेलकुदः
यो वडा खेलकुदका लागि उर्भरभूमि मानिन्छ । राधिका माबिको खेलमैदान नै यस वडाको मुख्य खेलमैदान हो । यस वडाबाट आधा दर्जन बढीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको फुटबल खेलिसकेका छन् । यस वडामा फुटबलको अलवा भलिबल, बुद्धिचाल, कराँते, एथलेटिक्स ब्याडमिन्टनलगायतका खेल खेल्ने खेलाडीहरु रहेका छन् । यस वडामा बहुउद्देश्यीय कवर्ड हल निर्माणाधिन अवस्थामा रहेको छ । बजेट अभावका कारण हाल कवर्ड हलको निर्माण कार्य सुस्त गतिमा रहेको छ । यसै वडामा खेलकुद तथा सामाजिक गतिबिधि सञ्चालन गर्ने पूरानो क्लब उर्लाबारी युवा क्लब पनि रहेको छ । २०५८ सालमा यो क्लबको स्थापना भएको थियो । यस्तै, उर्लाबारीकै पुरानो संस्था सामुदायिक विकास मञ्च पनि यसै वडामा रहेको छ । २०५५ सालमा स्थापना भएको यो संस्थाले बर्षेनी उर्लाबारी रन गर्दै आएको छ भने उर्लाबारी पुस्तकालयसहित सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको छ । यस्तै, उर्लाबारी फुटबल क्लब र उर्लाबारी भेट्रान्स फुटबल क्लब पनि यसै वडामा रहेका छन् । दुबै क्लबले फुटबल गतिबिधि सञ्चालन गर्दै आइरहेका छन् ।
खानेपानीको अवस्थाः
उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मुख्य कार्यालय यसै वडामा रहेको छ । यस वडाका सबै भू–भागमा शुद्ध खानेपानी पुगेको छ । २०५२ सालबाट निर्माण सुरु भएको खानेपानी योजना उर्लाबारी–६ मा २०५९ सालबाट धारा वितरण गर्न सुरु गरिएको थियो । यसै वडामा दुई वटा खानेपानी ट्याङ्की रहेका छन् । जसबाट अन्य वडामा समेत पानी वितरण हुने गरेको छ । दुई वटा खानेपानी ट्याङ्कीको क्षमता ९ लाख लिटर रहेको छ । साथै यस खानेपानी संस्थाले नगरभरीमा शुद्ध खानेपानी वितरण गर्दै आएको छ । हालसम्म १० वटा ट्याङ्की निर्माण भइसकेका छन् । अबको डेढ बर्षभित्र उर्लाबारीभरी पूर्ण रुपमा शुद्ध खानेपानी पु¥याउने योजना अनुसार काम भइरहेको छ ।
गौरबको योजना उर्लाबारी बसपार्कः
यस वडामा २० करोड रुपैयाँ बराबर लगानीमा बसपार्क निर्माण हुँदैछ । उर्लाबारी नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गर्दैछ । करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुन लागेको यो आयोजनालाई पूर्वपश्चिम राजमार्गमा आवत जावत गरिने सवारीसाधन व्यवस्थापन तथा नगरको सौन्दर्यीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
शुक्रबारे बजार र हाटखोला कृषि बजार:
हरेक हप्ताको शुक्रबार लाग्दै आएको शुक्रबारे बजार अहिले बसपार्क निर्माण स्थल नजिकको क्षेत्रमा लाग्दै आएको छ । यस वडाको हाटखोलामा लाग्दै आएको शुक्रबारे बजार एक बर्षअघि यस क्षेत्रमा सारिएको थियो । यो बजार नगरकै चर्चित बजार मानिन्छ । यहाँ झापा, मोरङलगायतका व्यवसायीहरु व्यापारका लागि आउने गर्दछन् । यस दिन यहाँ बजारभर्न आउनेको अत्याधिक भीड लाग्ने गर्दछ । यो बजारलाई ब्यवस्थित बनाउन आवश्यक देखिन्छ ।
यस्तै, हाटखोला सहुलियत कृषि बजार निर्माण भएको छ । सहुलियत कृषि बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याउने योजना अनुसार भवन निर्माण गरिएको भए तापनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । अव्यवस्थित कृषि बजारलाई एकीकृत गर्ने उद्देश्यले कोल्ड स्टोरसहितको ३२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ । १ करोड ४३ लाख ५ सय १८ रुपैयाँ खर्चिएर निर्माण गरिएको संरचना यसरी अलपत्र छोडिनु चिन्ताको विषय बनेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुको अवस्थाः
यस वडामा कुनै पनि बैंकको शाखा कार्यालय छैन भने ४ वटा सहकारी संस्था रहेका छन् । यसै वडामा मुख्य कार्यालय रहेको सूर्य बचत तथा ऋण सहकारी संस्था र जयबजरंगबली बचत तथा ऋण सहकारी संस्था रहेको छ । त्यस्तै, यस वडामा सम्पर्क कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्सीय सहकारी संस्था र मेची बहुउद्देश्यीय सहकारी संस्था रहेको छ ।
वडाको चुनौती तटबन्ध र ढल निकासी:
यस वडाको पूर्व भागमा मावा खोलाले छोएको छ । बर्खाको समयमा यो खोला उर्लिएर आउने भएका कारण पनि वडावासीहरुलाई दुख दिँदै आएको छ । करिब डेढ किलोमिटर तटबन्ध गर्न बाँकी रहेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा जनताको तटबन्धन कार्यक्रममार्फत यस वडामा पर्ने करिब ४ किलोमिटर क्षेत्रमा तटबन्ध गरिसकेको अवस्था रहेको छ । तटबन्धसहित यो वडामा ढल निकासीको उचित व्यवस्था छैन । जसले गर्दा वडावासीहरुले बर्षाको समयमा सास्ती खेप्दै आएका छन् । खानेपानी संस्था दक्षिणदेखि मावा खोलासम्मको ढल निकासको सामान्य व्यवस्था वडाले मिलाएको छ । जसका कारण केही जोखिम कम भएको छ । तर, त्यो नै पर्याप्त भने छैन । उर्लाबारी चौकबाट पूर्व मावा खोलासम्म ढल निकासको काम अघि बढ्न सके यो वडा बर्षेनी डुबानको चपेटाबाट मुक्त हुने थियो । ढल निकासको दीर्घकालिन प्रवन्धका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले वडाको सिलिङ बजेटबाट काम गर्न सम्भव देखिँदैन । सो कार्यका लागि वडा कार्यालयले नगर, प्रदेश र संघ गुहार्नु पर्ने स्थिति छ । तर, ती निकायले यस विषयमा गम्भिर ध्यान दिएको पाईदैन । विद्यमान अवस्थामा यो वडाको मुख्य समस्या नै ढल निकासी र तटबन्ध देखिएको छ ।
यस वडाले महिलाहरुको क्षमता विकासका लागि पनि महत्वपूर्ण काम गरिरहेको छ । वडाले जनचेतना र महिलालाई तालिममार्फत महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम गरेको महिला वडा सदस्य दुर्गावति लिम्बू बताउनुहुन्छ ।
यस वडाले महिलासँगै दलित समूदायको उत्थानमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दलितहरुलाई राजनीतिक पहुँचमा ल्याउन, चुलो चौकोबाट बाहिर ल्याउन, उद्यमी र आत्मनिर्भर बनाउन भूमिका खेल्ने काम वडा कार्यालयले गरिरहेको छ । दलित अधिकार स्थापित गर्ने सवालमा धेरै कामहरु वडाबाट भएको दलित महिला सदस्य पवित्रा विश्वकर्मा बताउनुहुन्छ ।
वडा कार्यालयमार्फत सेवाग्राहीलाई वडाले सहजरुपमा सेवा प्रदान गरिरहेको छ । कार्यालय समयमा जनप्रतिनिधि सधैं उपस्थित भएर सेवा दिने गरेका छन् । कहिल्यै जनप्रतिनिधि कार्यालय समयमा नभएर काम नभएको भन्ने गुनासो यो वडामा आएको छैन । खेलकुदमा पनि सक्दो काम गरिरहेको वडा सदस्य मानबहादुर धिमाल बताउनुहुन्छ ।
यो वडामा सेवाग्राहीलाई अल्झाउने, टार्ने, समयमा काम नगरिदिने र दुख दिने प्रवृत्ति छैन । जनप्रतिनिधिले व्यवहारिकता हेरेर, समस्या बुझेर नियमसंगत तरिकाले काम गरिदिएका छन् । सांच्चिकै गाउँगाउँमा सिंहदरबार आएको जस्तो अनुभूति यो वडामा भएको छ । वडाले हरेक क्षेत्रलाई उत्तिकै महत्व र प्राथमिकता दिइरहेको छ । यस वडाले बाँझो खेत नराख्ने नीति लिएको छ । कृषिलाई व्यवसायिकरण गरी कृषि विकासको अवधारणा अघि सारेको छ । साथै, वडाले पाँच कट्ठा जग्गाका भएका कृषकहरुका लागि कृषि औजार, मल, विउ उपलब्ध गराउँदै आएको छ । जसले गर्दा कृषकहरुमा उत्साह थपेको वडा सदस्य बमबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउने जमर्कोमा यस वडाका जनप्रतिनिधिहरु भगीरथ लागि पर्नुभएको छ । वडामा भएका स्रोत र साधनको पहिचान गरी यसको कुशल प्रयोग गरी वडाको कर प्रणालीलाई चुस्त बनाई आर्थिक पक्ष सवल बनाउने काममा पनि जनप्रतिनिधिहरुले भूमिका खेलिरहनुभएको छ । वडाले सिमित स्रोत साधनले भ्याएसम्म विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, विद्युत, खेलकुदलगायतका काम अघि बढाइरहेको छ । वडाभित्र देखिएका समस्याहरुलाई आवश्यकताका आधारमा समाधान गर्न यस वडाका जनप्रतिनिधिहरुले अर्जुनदृष्टी बनाएर लागि परेका छन् ।