
उर्लाबारी । मोरङको उर्लाबारीमा चैत्र १५ गतेदेखि अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सो प्रतियोगिता हुने भएको हो । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारेमा जानकारी गराइएको छ । उद्घाटन खेलमा उर्लाबारी–६ को मोरङ मोडल र उर्लाबारी–३ को विद्या ज्योति इङ्लिस बोर्डिङ स्कुलबीच हुने भएको छ । प्रतियोतिामा उर्लाबारीका ११ वटा कलेजहरुको सहभागिता रहने आयोजक समितिका संयोजक विशाल तामाङले जानकारी दिनुभयो । फाइनल खेल चैत्र २५ गते हुने छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने क्लबका उपाध्यक्ष योगराज फागोले बताउनुभयो ।
कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिता गर्न लागिएको उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले जानकारी दिनुभयो । खेलाडीहरु उत्पादन गर्न कलेज स्तरबाटै पहल थालेको उहाँको भनाई छ । कलेज स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी बन्ने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले बताउनुभयो । उहाँले पालिका स्तरमै लिग प्रतियोगिता सञ्चालन गर्न सके थप खेलाडी उत्पादनमा टेवा पुग्ने उहाँको भनाई छ । प्रतियोगितामा ६ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रम सञ्चालन क्लबका सचिब घनश्याम भण्डारीले गर्नुभएको थियो ।