
दिपेन्द्र बराईली
उर्लाबारी । जनतालाई दुःख दिने उद्देश्यले उर्लाबारी नगरपालिकाले अबैधानिक पटके कर उठाएको भन्दै नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले विरोध जनाएको छ ।
आइतबार पार्टीका नगर अध्यक्ष गजेन्द्र दंगाल र सचिब पवन चौधरीको संयुक्त हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाउँदै कुनै पनि बहानामा जनतालाई दुःख दिने नगरपालिकाबाट भए त्यसका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । स्थानीय सडक सेवा शुल्क भन्दै उर्लाबारी नगरपालिकाले पकटे उठाउन थालेपछि माओवादीले नगरपालिकासहित इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्ञापन पत्र बुझाएको छ । पटके कर खारेज गर्न माओवादीले माग गरेको छ । ‘गृहमन्त्रालयको निर्देशन विपरीत कर संकलन गर्न नगरपालिकाले पाउँदैन’ सचिब पवन चौधरीले भन्नुभयो–‘बोकाको टाउको राखेर बाख्राको मासु बेच्ने काम जस्तो पटके कर होइन स्थानीय सडक सेवा शुल्क भनेर आम जनतालाई ढाट्न सकिँदैन, खारेज गर्नुहोस् ।’
नगरअध्यक्ष गजेन्द्र दंगालले जनतालाई खुशी पारेर कर संकलन गर्नु पर्नेमा आक्रोश बनाउने काम नगरपालिकाबाट भएको भन्दै विरोध जनाउनुभयो । करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताउँदै उहाँले जनतालाई दुःखी बनाएर कर संकलन गर्नु जायज नभएको उहाँको भनाई छ ।
यता उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले मुख्य राजमार्ग र सहायक उर्लाबारी–मधुमल्ला तथा उर्लाबारी–इटहरा सडकमा कर संकलन नगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । ‘यी सडकमा भुलबस कर संकलन भयो’ नगरप्रमुख खरेलले भन्नुभयो–‘ मुख्य राजमार्ग र सहायक सडकबाहेक अन्य नगर स्तरका सडकमा भने कर उठाउँछौं, कानुन विपरीत भए कार्वाही भोग्न तयार छौं ।’