
उर्लाबारी । मोरङको उर्लाबारीमा नेपाल सरकारको निर्देशन विपरीत पटके सवारी कर तथा सवारी साधन कर असुली भइरहेको पाईएको छ ।
गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको स्पष्ट निर्देशन हुँदाहुँदै पनि स्थानीय सरकारले राजमार्ग तथा सहायक राजमार्गमा सवारी कर उठाइरहेको पाईएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७५ साल मंसिर १७ गते गरेको निर्णयअनुसार राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गमा स्थानीय सरकारले पटके सवारी कर लगायतका कर असुल गर्न नपाउने व्यवस्था छ । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयबाट कार्ययोजना तयार गरी सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरिसकिएको छ । तर, पछिल्लो समय विभिन्न स्थानीय सरकारहरूले पुनः यस्ता कर असुली जारी राखेका छन् ।
यस विषयमा गृह मन्त्रालयले २०८१ साल कार्तिक ११ गते निर्देशन जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता कर उठाउने कार्य रोक्न आवश्यक कदम चाल्न आदेश दिएको थियो । मन्त्रालयको पत्र अनुसार, स्थानीय तहहरूले कानुन विपरीत कर असुली गर्न नपाउने स्पष्ट व्यवस्था रहेको छ । तर, मोरङको उर्लाबारी–७ मा भने मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय सरकारले सवारी साधनबाट पटके कर असुली जारी राखेको छ । स्थानीयहरुले पटके करको विरोध गरिरहेका छन् ।